• २३ वैशाख २०८२, मङ्गलबार

फेदीखोला गाउँपालिका सम्मानित

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङसिर १२ गते । अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आबद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानित हुनुभएको हो । 

फेदीखोला जस्तै मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगन्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका कोषमा आबद्धता रहेपनि स्याङ्जाको फेदिखोला मात्र सम्मानित भएको हो । 

सार्वजनिक निर्माणको काममा सूचीकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष’ मार्फत टेवा पुर्‍याएको फेदिखोला गाउँपालिका ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार गत असारमा आबद्धता जनाएको थियो ।  

मजदुर सञ्चित कोषमा आबद्ध सात सय १४ जना श्रमिकलाई पालिकाको अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्धता रहेको पालिका अध्यक्ष सुबेदीले बताउनुभयो । पालिकाको अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा रहेकामध्ये दुई सय १ जनाको केन्द्रको सुरक्षा कोषको सफ्टवेयरमा इन्ट्री भएको र लगातार हुने सुबेदीले बताउनुभयो ।  

सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०.३७ प्रतिशत सामाजिक सुरक्षाकोषमा योगदान गरिएको छ ।स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम परिश्रमिकको ३१ प्रतिशतदेखि तीन गुणा कोषमा योगदान गरी कार्यविधि अनुसारको सुविधा लिन पाउने व्यवस्था छ । 

योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित तथा वृद्ध अवस्था सुरक्षा योजनाबाट सेवा समेत पाउने छन्।