• २५ असार २०८२, बुधबार

विदेश पठाइदिने प्रलोभन देखाएर ठगी

blog

तनहुँ समाचारदाता

तनहुँ, असार २५ गते । छिटो धन कमाउने र विकसित देशमै स्थायी बसोबासको प्रलोभनमा फसेर यहाँका युवा ठगिने क्रम बढेको पाइएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्ने दलालको विश्वास गर्ने तर वैदेशिक रोजगारीमा जानुअघि आवश्यक पर्ने सूचना, कानुनी प्रक्रियाबारे ध्यान नदिँदा ठुलो धनराशि ठगी भएको पाइएको हो ।

दलालको विश्वासमा परेर कानुनी प्रक्रिया पूरा नगरी रकम दिँदा पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोतकेन्द्र तनहुँले जनाएको छ । 

खाडी मुलुकमा काम गरिरहेका र विदेश जान चाहनेहरूले म्यानपावर कम्पनीको सट्टा एजेन्टको जालमा परेर वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा ठगिने क्रम बढेको केन्द्रकी जिल्ला संयोजक लुना रानाले बताउनुभयो । रानाले भन्नुभयो, “सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाका माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा करोडौँको ठगी भएको छ ।” 

रानाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा जिल्लामा वैदेशिक रोजगारीमा १२० जना ठगिएका छन् । ठगिएकाले आप्रवासी स्रोतकेन्द्रमा उजुरी दिएका छन् । सबैभन्दा बढी व्यास नगरपालिकामा ४७ जना ठगिएका छन् । भानु नगरपालिकामा छ, शुक्लागण्डकी नगरपालिकामा १६, म्याग्दे गाउँपालिकामा नौ, भिमाद नगरपालिकामा छ, बन्दीपुर गाउँपालिकामा चार जनाले ठगिएको भन्दै उजुरी दिएका छन्  । देवघाट गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा पाँच र आँबुखैरेनी गाउँपालिकामा तीन जना ठगिएका छन् । अन्य जिल्ला घर भई हाल तनहुँमा अस्थायी बसोबास गर्ने छ जनाले ठगिएको भन्दै उजुरी दिएका तर प्रमाणको अभावमा धेरै पीडितले न्याय पाउन सकेका छैनन् । 

क्यानडाको स्थायी बासिन्दा हुने र राम्रो कमाइ हुने प्रलोभनमा परेर म्याग्दे गाउँपालिकामा एकै व्यक्तिबाट ६५ लाख रुपियाँ ठगिएको पाइएको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । कतारमा मासिक एक लाख ८० हजार रुपियाँ तलब पाएर राम्रो कमाइ गरिरहेकोमा दलालीको क्यानडाको स्थायी बासिन्दा बनाउने र जागिर लगाउने प्रलोभनमा परेर ठुलो रकम ठगिन पुगेको तिवारीले बताउनुभयो । 

नागरिकता नम्बर र फोटो अर्कैको राखेको नागरिकताको फोटोकपी पठाएर पैसा पठाउन लगाउने, ई सेवाबाट पैसा पठाउन लगाउने जस्ता तरिका अपनाउने गरेको पाइएको तिवारीको भनाइ छ । नेपाल सरकारबाट सूचीकृत म्यानपावर कम्पनीमा सम्पर्क गर्ने र बैङ्कमार्फत उद्देश्य खुलाएर रकम जम्मा गर्ने हो भने ठगीबाट जोगिने तिवारी बताउनुहुन्छ ।