काठमाडौं, मङ्सिर ११ गते । वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विस्फाेटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ । केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टाइनीहरूलाई मारेको बताएको छ । यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शङ्कास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो ।
प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि वेस्ट बैंकमा इजरायलीबाट कम्तीमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल