• १२ साउन २०८१, शनिबार

फरक काम सुरु भएको छ

blog

सङ्खुवासभाको १० स्थानीय तहमध्ये भूगोल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो स्थानीय तह हो चिचिला गाउँपालिका । साबिकको दिदिङ र मत्स्यपोखरी गाउँ विकास समितिलाई समेटेर बनेको यस पालिकामा पाँच वटा वडा छन् । जिल्ला सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकासँग जोडिएको यस पालिकाको मध्य भाग भएर उत्तरदक्षिण कोशी राजमार्ग निर्माण गरिएको छ । देशकै ठुलो जलविद्युत् परियोजना नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह यसै गाउँपालिकामा पर्दछ । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पा २०७९ सालको निर्वाचनमा समेत दोस्रो पटक निर्वाचित हुनुभयो । पहिलो कार्यकाल र दोस्रो कार्यकालको डेढ वर्षको कार्य अनुभव समेट्नुभएका गाउँपालिकाका अध्यक्ष शेर्पासँग गोरखापत्रका सङ्खुवासभा समाचारदाता ध्यान कुलुङले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ । 


अहिले दोस्रो कार्यकालमा हुनुहुन्छ, पहिलो कार्यकाल र दोस्रो कार्यकालको कार्य सम्पादनमा के फरक छ ?

पहिलो कार्यकालको पहिलो वर्ष त अन्योलमा नै बित्यो । सिक्ने क्रममा नै धेरै समय बित्यो । एउटा डायरी र कलम मात्र बोकेर गाउँपालिकाको नेतृत्वमा आयौँ । पछि भाडाको घरमा कार्यालय व्यवस्थापन ग¥यौँ । कानुन निर्माण गर्दै कार्यान्वयन गर्दै लग्यौँ । पहिले बनाएको दरिलो जगमा टेकेर अहिले धमाधम काम गरिरहेका छौँ । यसअघिको अनुभवले दोस्रो कार्यकालमा कुनै समस्या छैन । कामले गति लिइरहेको छ ।

गाउँपालिकालाई समृद्ध बनाउन के के कुरालाई प्राथमिकतामा राख्नुभएको छ ?

ठुला ठुला पूर्वाधारको निर्माणलाई मात्र हामीले विकास ठान्नु हुन्न । सामाजिक चेतनाको विकास पनि समृद्धिको सूचक हो भन्ने हामीले बुझेका छौँ । त्यसैले शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी गरेका छौँ । हामी जनप्रतिनिधि भएर आउँदा विद्यालयमा शिक्षक नभएकोले अभिभावकले पैसा उठाएर निजी स्रोतबाट शिक्षक राखेर पठनपाठन भइरहेको अवस्था थियो । हामी आउनेबित्तिकै कार्यविधि बनाएर गाउँपालिकाकै स्रोतबाट एकै पटक विभिन्न तहका गरी २९ जना शिक्षक पदपूर्ति गरेका थियौँ । अहिले आयोगबाट शिक्षक मगाएपछि पालिका स्रोतबाट राखिएको शिक्षकको सङ्ख्या आठ जनामा झारेका छौँ । स्वास्थ्य क्षेत्रमा पनि उस्तै समस्या थियो । हामी आउँदा दुई वटा मात्रै स्वास्थ्य चौकी थियो । अहिले प्रत्येक टोलमा १३ वटा सामुदायिक स्वास्थ्य एकाईमार्फत स्वास्थ्य सेवा पु¥याएका छौँ । अति विपन्न, ज्येष्ठ नागरिक, सुत्केरीलगायतलाई निःशुल्क एम्बुलेन्सको सेवा दिएका छौँ । आर्थिक विकासका लागि कृषि, पशुपालन तथा बजार व्यवस्थापनमा पनि राम्रो लगानी गरेका छौँ । प्रतिफल पनि आउन थालेको छ । पर्यटन पूर्वाधारलाई पनि उत्तिकै प्राथमिकताका साथ अगाडि बढाएका छौँ ।

पर्यटन क्षेत्रको विकासका लागि के के गर्नुभयो र सम्भावना कस्तो छ ?

पालिकाको वडा नम्बर ४ स्थित मत्स्यपोखरी जिल्लाकै चर्चित पर्यटन गन्तव्य हो । यो पोखरी क्षेत्रको विकासका लागि ११ करोड रुपियाँभन्दा बढीको लागत रहने गरी गुरुयोजना बनाएर काम थालिसकेका छौँ । नेपाल–तिब्बत युद्धको किंवदन्तीसमेत जोडिएको कप्ताने पोखरी क्षेत्रको प्रवर्धनमा उत्तिकै जोड दिएका छौँ । त्यहाँको पनि पूर्वाधार निर्माण भइरहेको छ । यो पोखरीसँगै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको मकालु हिरक पार्कको काम पनि भइरहेको छ तर सङ्घीय सरकारसँगको लागत साझेदारीमा गरिने यो परियोजनाका लागि सङ्घबाट आउनुपर्ने बजेट आउन सकेको छैन । त्यस्तै बलुथाम, चुच्चे ढुङ्गा, धुवाँछाँगा, नागदहको समेत गुरुयोजना निर्माण भइसकेको छ । सङ्घ र प्रदेश सरकारसँग स्रोतका बारेका कुरा भइरहेको छ । निकट भविष्यमा नै पूर्वाधार निर्माणसँगै प्रवर्धन कार्यमा लाग्छौँ ।

अरुण तेस्रो परियोजना यही पालिकामा बन्दै छ, आपसी समन्वय र सहयोग कस्तो छ ?

लामो समयको पर्खाइपछि आएको अरुण तेस्रो स्वागतयोग्य छ । छिटपुट घटनाबाहेकमा हाम्रो समन्वय र सहयोग राम्रोसँग आदानप्रदान भइरहेको छ । आयोजना सञ्चालनका क्रममा आउने अवरोधको समाधानमा हामीले सहजीकरण गरिदिएका छौँ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा विपत्को बेला परियोजनाले पनि सहयोग गरिरहेकै छ । परियोजनाको सहयोगमा हालसम्म एउटा विद्यालय भवन निर्माण भइसकेको छ भने अन्य दुई वटा निर्माणाधीन अवस्थामा छ । अन्य सामुदायिक भव लगायतका संरचना निर्माणको काममा पनि सहयोग प्राप्त भइरहेको छ । चिचिलामा आउने विपत्को समयमा पनि राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ । विद्यार्थीका लागि छात्रवृत्ति तथा युवाका लागि रोजगारमूलक तालिम पनि दिइँदै आएको छ । धेरथोर रोजगारी पनि दिइएकै छ । समग्रमा परियोजना र गाउँपालिकाको सम्बन्ध सहयोगी र समन्वयकारी छ ।

गाउँपालिकाको विकासका लागि मुख्य चुनौती के के छन् ?

मुख्य कुरो त बजेट नै हो । यो पालिकामा जिल्लाकै सबैभन्दा थोरै बजेट आउँछ । सायद भूगोल र जनसङ्ख्या थोरै भएर होला तर आवश्यकता र विकासको क्षेत्र चाँहि अन्य पालिका जति नै छ । आन्तरिक आयस्रोत पनि खासै छैन । त्यही भएर राजस्व सङ्कलन पनि खासै हुन्न । सीमित स्रोत भए पनि जनचाहना र आवश्यकता भने असीमित छ । पर्याप्त बजेट आउने हो भने हामीले हाम्रो पालिकालाई निकै अगाडि पु¥याउन सक्थ्यौँ ।

चिचिला गाउँपालिकाबाट अन्य पालिकाले सिक्नुपर्ने केही छ जस्तो लाग्छ ?

हामी त्यस्तो सर्वोत्कृष्ट पालिका भनेर त दाबी गर्दैनौँ तर अन्य पालिकाले गरेको भन्दा केही फरक कार्यचाँहि अवश्य गरेका छौँ । अन्य पालिकाको जस्तै हाम्रो पालिकामा पनि २०५०/५२ सालतिर जग्गा नापी गर्न आउँदा अज्ञानताका कारण थुप्रैले जग्गा धनीपुर्जा लिएका थिएनन् । पुस्तौँदेखि भोग गर्दै आएका जग्गाको लालपुर्जा नभएकोले समस्या भोग्दै आएका छन् । त्यस्तो जग्गाको दर्ता कार्यपालिका स्तरमा कानुन बनाएर हामीले थालेका छौँ । पुस्तौँदेखि उपभोग गर्दै आएको तर सामुदायिक वन क्षेत्रभित्र नपर्ने जग्गालाई उनीहरूकै स्वामित्वमा रहने गरी विवरण सङ्कलन गर्ने काम सुरु गरेका छौँ । यस कार्यले हाम्रो पालिकाभित्र दर्ता छुट भएको जग्गा कति छ भनेर विवरण स्पष्ट हुने, थोरै भए पनि राजस्व सङ्कलन हुने र पछि नापी हुने बेलामा सम्बन्धित व्यक्तिले भोग गर्दै आएको भनी सरकारी प्रमाण हुने भएकोले दर्ता कार्यमा सहजता हुने छ । यस्तो समस्या यस्ता पालिकामा धेरै छन् । नापी गर्ने बेलामा छुट भएका कारण थुप्रैको आफ्नो नाममा जग्गा नहुने समस्या देखिन्छ । यसलाई सबै स्थानीय तहले महत्वका साथ हेर्नु पर्छ जस्तो लाग्छ ।

हामीले टोल विकास समिति गठन गरेर उत्तिकै जिम्मेवार बनाउने प्रयास गरेका छौँ । दीर्घकालीन तथा गौरवका आयोजनाबाहेकको योजना हामी आफैँले छनोट गर्दैनौँ । सम्पूर्ण जिम्मेवारी टोल विकास समितिलाई दिन्छौँ । उनीहरूले नै योजना छनोट गर्ने तथा सञ्चालन गर्ने गर्छन् । पालिकाभित्रको निकासी कर पनि टोल विकासले सङ्कलन गर्छ र जम्मा सङ्कलित रकमको २० प्रतिशत रकम उनीहरूले नै राख्छन् । पछि त्यो रकममा पालिकाले थप बजेट हाल्छौँ र सम्बन्धित टोलमा साझेदारीमा काम गर्छौं । यसो गर्दा टोलका नागरिक अत्यधिक सक्रिय हुने रहेछन् । यसरी टोल टोलका आमनागरिकदेखि पालिका अध्यक्षसम्म सबै सक्रिय भए भने समृद्धि हासिल गर्न सकिन्छ जस्तो लाग्छ ।