• २१ असार २०८१, शुक्रबार

हरिबोधिनी एकादशी : कालीगण्डकीमा भक्तजनको घुइँचो

blog

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमाना रहेको राम्दी (कालीगण्डकी तट)मा स्नान तथा पूजा गर्दै भक्तजनहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर ७ गते । हरिबोधिनी एकादशीको अवसरमा बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भिड लागेको छ । कालीगण्डकी अन्तर्गत स्याङ्जाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल सेतीवेणी शिला, रामनदी धाम राम्दी, केलादीघाट, हुँगीघाट, उत्तरवाहिनी लगायत स्थानमा बिहानैदेखि भिड लागेको हो । सेतीवेणी, राम्दी लगायतका स्थानमा बिहानैदेखि भजनकीर्तन भइरहेको छ । 

बिहानै कालीगण्डकीमा गई स्नान गरेर पूजा गर्दा मनोकामना पूरा हुने, पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । 

राम्दीमा र सेतीवेणीमा विशेष मेला 

राम्दी र सेतीवेणीमा विशेष मेला लागेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सिमाना गल्याङमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्ला र तीन अञ्चलको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशवाट भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् । 

कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । 

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको सिमाना राम्दीमा स्वदेशी तथा भारतीय भक्तजनहरुको घुइँचो छ । सिद्धार्थ राजमार्गमै रहेका कारण भारतीयहरुको पनि राम्दीमा बाक्लो उपस्थिति रहने गरेको गल्याङ् नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । 

चापाकोटमा सार्वजनिक बिदा

चापाकोट नगरपालिकाले सार्वजनिक हरिबोधिनी एकादशीको अवसरमा आज बिदा दिएको छ । पालिकाले प्रत्येक वर्ष हरिबोधिनी एकादशीमा पालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । चापाकोटमा पर्ने कालीगण्डकी नदि तटमा विशेष मेला लागेको छ ।

यस्तै, कालीगण्डकी उत्तर फर्केर बहेको कालीगण्डकी उत्तरवाहिनीमा पनि बिहानबाटै भजन कीर्तन भएको छ ।