• २१ असार २०८१, शुक्रबार

मेडरी नाच संरक्षणमा जुट्दै थारु समुदाय

blog

कावासोती १५ को गुन्द्रही मेलामा मेडरी नाच देखाउदै थारु समुदाय । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, मङ्सिर ७ गते । थारू समुदायको पौराणिक महत्व बोकेको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदा लोप हुने अवस्थामा पुगेको हो । 

नवलपुरका थारु समुदायले कला र संस्कृतिको जगेर्ना गर्न लागि परेका छन् । संस्कृतिको जर्गेना गर्न प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन मेडरी नाच देखाउने प्रचलन छ ।

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताका सहितको ठुलो बाँसको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ । थारू संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन कावासोती १५ मा अवस्थित गुन्द्रही मेलामा आफूहरुले पनि मेडरी नाच नचाउने गरेको मध्यबिन्दु ३ का थारू अगुवा जुगतराम थनेतले बताउनुभयो ।

“मेडरी नाच कृष्णलीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँच पाण्डवहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ । यस नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ, ” मध्यबिन्दु ३ का वडाध्यक्ष मानबहादुर महत्तोले भन्नुभयो ।

थारु समुदायको गहनाको रुपमा रहेको “दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।” अहिलेको नयाँ पुस्ताले भने मेडरी नाचको महत्व बिर्सिँदै गएको थनेतले बताउनुभयो ।

थारू समुदायका अन्य नाच युवा पुस्ताले जगेर्ना गर्दै आएको भएपनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको थारु अगुवाहरु बताउँछन् । पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, अहिले पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले चासो देखाउन छाडेकाले नाच हराउँदै जान थालेको रिर्टनी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशका संयोजक नेत्र थनेतले बताउनुभयो ।

थारू समुदायको लाठीनाच र झाम्टानाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । “जिल्लामा यो नाचको लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवाहरू जुट्छन”,उहाँले भन्नुभयो, “तर आवश्यक सामान बनाउनको लागि समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवाहरूमा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ ।” मेडरी नाच नचनिया दुलामणि गुरौले बताउनुभयो ।

थारु समुदायको संस्कृति, भेषभूषा र परम्पराको जगेर्ना गर्दै समाजमा यसको महत्व झल्कने गरी अहिले लोप हुनु लागेको मेडरी नाच, झाम्टानाच र लाठीनाचप्रति संरक्षणका लागि अघि बढेको कावासोती १० का वडाध्यक्ष टेकनारायण महत्तोले बताउनुभयो ।