अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ७ गते । पुतलीबजार नगरपालिका–१३ झापाकोटको कालिका माध्यमिक विद्यालयले जग्गा भाडामा लिएर आलु खेती गरेको छ । सात रोपनी जग्गा स्थानीयसँग दस वर्षको लागि बन्दगी लियर व्यावसायिक रूपमा आलु खेती सुरु गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन प्रसाद कोइरालाले विद्यार्थीलाई उत्पादनसँग जोड्न तथा शिक्षा र प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर आलु खेती गरेको बताउनुभयो । विद्यार्थी र शिक्षकहरूलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत उत्पादन कार्य सञ्चालन गर्न लागेको र विद्यालयलाई अतिरिक्त आर्थिक लाभ हुने तथा विद्यार्थी अभिभावक र सबै सरोकारवालाहरूलाई फाइदा हुने कोइरालाले बताउनुभयो ।
आगामी दिनमा राम्रो नर्सरी स्थापना गरी मौसमी तथा बेमौसमी तरकारी बालिका बिरुवा उत्पादन गरेर बिक्री वितरण समेत गर्ने लक्ष्य पालिकाको रहेको कोइरालाले बताउनुभयो। अतिरिक्त क्रियाक्लब कार्यक्रम अन्तर्गत लगाइएको आलुखेतीमा कक्षा ९ देखि १२ सम्म विद्यार्थी सहभागी छन् भने समितिका अध्यक्ष, अभिभावक र शिक्षकले सहयोग गरेका छन्। यहाँ जनकदेव जातको सात सय ५० केजी लगाइएको हो भने आलुको बिउँको व्यवस्थापन अध्यक्ष कोइरालाले गर्नुभएको हो ।
शिक्षा दिवसको अवसरमा गण्डकी प्रदेशमै दुई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्मानमा प्रस्तावित हुने मध्ये कालिका मावि एक हो ।