सिराज खान
नेपालगन्ज, मङ्सिर ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका मुर्रा जातका राँगा बोकेर आएका दुई वटा ट्रकलाई यहाँस्थित नेपाल–भारत नाकामा भारतीय कस्टमले साढे चार घण्टा रोकेर नेपाल प्रवेश गर्न दिएको छ ।
भारत सरकारले उपहारस्वरूप प्रदान गरेका राँगालाई आवश्यक विभिन्न कागजपत्र नभएको भन्दै भारतीय कस्टमले नेपाल छिर्न नदिएपछि राँगा बोकेका ट्रक नाकामै रोकिएका थिए । भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैंस अनुसन्धान संस्थानबाट मङ्गलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगे पनि विभिन्न कागजपत्र नभएको भन्दै कस्टमले रोकेको राँगा हस्तान्तरण गर्न आउनुभएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताउनुभयो । उहाँले ट्रकलाई बेलुकी साढे ७ बजे मात्र भन्सारबाट छाडिएको जानकारी दिनुभयो ।
डा. राजेशले भारत सरकारले नेपाल सरकारलाई उपहार दिएको कागजपत्र देखाउँदा पनि यो नाकाबाट राँगा लैजान अनुमति छैन भनेर भारतीय कस्टमका अधिकारीले ठाडो जवाफ दिएर विभिन्न कागजपत्र र बिल मागेर दुःख दिएको बताउनुभयो ।
भारतबाट आउने राँगा बुझ्न काठमाडौँबाट बुधबार बिहानै नेपालगन्ज पुग्नुभएका पशुसेवा विभाग अन्तर्गतको राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौँका प्रमुख माधव अर्यालले दिउँसो २ बजे आइपुग्ने भनिएका राँगा भारतीय कस्टमको अवरोधका कारण बेलुकी साढे ७ बजे मात्र नेपाल छिरेको जानकारी दिनुभयो । राँगालाई नेपालगन्जस्थित पशु क्वारेन्टाइन चेकपोस्ट अन्तर्गतको होल्डिङ याडमा रातभरि राखेर बिहीबार बिहान पोखरा, लहान र बाँकेका राष्ट्रिय पशु प्रजनन कार्यालयहरूमा पठाइने प्रमुख अर्यालले बताउनुभयो । उहाँका अनुसार नेपाललाई प्राप्त भएका राँगामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन वटा बाँकेको पशु प्रजनन केन्द्रमा पठाइने छ ।
मुर्रा जातका राँगा लैजानका लागि राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डा. भाजुराम महतो र राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शिभनाथ महतोको नेतृत्वमा टोली बुधबार नै नेपालगन्ज पुगिसकेको छ ।
बिहीबार राँगाको स्वास्थ्य परीक्षण गरेर मात्र दिइने पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. विनय कर्णले जानकारी दिनुभयो । उहाँले एउटा मुर्रा जातको राँगाबाट वर्षमा २० देखि ५० हजार डोज वीर्य उत्पादन गर्न सकिने जनाउँदै यसले भैँसीको नश्ल सुधारमा आमूल परिवर्तन हुने बताउनुभयो ।