• ७ जेठ २०८१, सोमबार

युवा सङ्घद्वारा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण

blog

युवा सङ्घ नेपालले भूकम्प प्रभावित परिवारका लागि बनाएका अस्थायी आवास । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ६ गते । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण क्षति भएका घरमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भइरहेको छ । 

यसै क्रममा नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा अहिले सक्रिय छ । युवा सङ्घका गण्डकी प्रदेश कमिटी अध्यक्ष पानबहादुर क्षेत्रीको नेतृत्वमा रहेको टोलीले चौरजहारी नगरपालिका –१० पोखरी गाउँमा उद्धार र अस्थायी आवास निर्माणको काम गरिरहेको छ ।  

उक्त स्थानमा गत आइतबारबाट सो टोलीले निर्माणको काम सुरु गरेको थियो । मंगलबार बेलुकासम्म भूकम्पबाट पूर्णरुपमा क्षति भएका ६ वटा घरको उद्धार गरेर अस्थायी आवास निर्माण सम्पन्न गरिएको युवा सङ्घले जनाएको छ । 

युवा सङ्घ केन्द्रीय सदस्य जोन आरसीका अनुसार ६ घरपरिवारका ३२ सदस्यहरुका लागि निर्माण गरिएका अस्थायी आवास भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । सुरुमा भत्किएका घरका सामग्री निकाल्ने, मिलाउनेलगायतका उद्धारका काम गरेर अस्थायी आवास निर्माण गरेको आरसीले बताउनुभयो । 

चिसो मौसमको कारण भूकम्प प्रभावित परिवारको अवस्था झन् कमजोर हुदै गएकाले गण्डकी प्रदेश कमिटीसहित करिब २७ जनाको युवा टोलीले स्वयंसेवकको रुपमा परिचालन भएर आवास निर्माण गरेको आरसीको भनाइ छ । 


भूकम्पले पूर्णरुपमा घर क्षति भएका पोखरी गाउँका आइते राना, सिंगे राना, शशिराम राना, कर्णबहादुर राना, टेकबहादुर राना र खिमबहादुर रानाको अस्थायी आवास निर्माण सम्पन्न गरिएको छ । आजबाट उक्त टोलीले वडा १० र वडा ११ मा विभाजन भएर काम गरिरहेको छ । त्यहाँ पनि उद्धार र अस्थायी आवास निर्माणको काम सुरु गर्ने युवा सङ्घले जनाएको छ ।