सिराज खान
नेपालगन्ज, मङ्सिर ५ गते। विभिन्न सङ्घसंस्थाले भूकम्प पीडितका लागि उपलब्ध गराएको आठ सय थान त्रिपाल र ३५ रोल ओछ्याउने फम जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार प्रभावित जिल्लातर्फ पठाएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार प्रभावित जिल्लाबाट त्रिपाल र ओछ्याउने फमको माग धेरै आएकोले नेपालगन्जमा विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएका आठ सय थान त्रिपाल र ३५ रोल फम मंगलबार त्यसतर्फ पठाइएको हो।
उहाँले जाडोको मौसम सुरु भइसकेको र कतैकतै पानी समेत परेकोले अहिले भूकम्पपीडितलाई सबैभन्दा बढी आवश्यक त्रिपाल र ओछ्याउने सामग्री रहेको देखेर त्रिपाल र फम पठाइएको बताउनुभयो।
अहिले पनि धेरै पीडित भत्किएका घर बाहिर खुला आकाशमुनि बसिरहेको तथा अझैसम्म धेरैले त्रिपाल नपाएको गुनासो प्रभावित जिल्लाबाट आइरहेको छ। नेपाल प्लाइउड म्यानुफक्चर एसोसिएसनले जिल्ला प्रशासन कार्यालय बाँकेलाई आठ सय थान त्रिपाल र जमिनमा ओछ्याउनका लागि २० रोल कालो मोटो फम उपलब्ध गराएको थियो। एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेसहितको टोलीले सो राहत हस्तान्तरण गरेको थियो।
यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त भएको राहतसँगै भारत सरकारबाट तीन खेपमा प्राप्त भएको ठुलो परिमाणको राहत सामग्रीलाई पनि तत्काल नै प्रभावित जिल्ला जाजरकोट र रुकुमतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
नेपालगन्जबाट जाजरकोट र रुकुम पश्चिम नजिक भएको हुँदा ६० जना गम्भीर घाइतेलाई उपचारका लागि यहाँ ल्याइएको र यहाँबाट राहत सामग्री पुर्याउन सहज भएकोले नेपालगन्जलाई उपचार तथा राहत सङ्कलन तथा सम्प्रेषण केन्द्रका रूपमा स्थापित गरिएको थियो।