अमरराज नहर्की
तनहुँ, मङ्सिर ५ गते । तनहुँ ट्राफिक प्रहरीले चाडपर्वको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधानबाट करिब ५० लाख रुपियाँ जरिवाना असुल गरेको जनाएको छ ।
दसैंदेखि तिहार, नेपाल सम्वत् तथा छठ सम्मको अवधिमा ६ हजार ७९ सवारी साधनबाट सो जरिवाना असुल गरिएको हो । कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सो सङ्ख्या कारबाहीबाट ४९ लाख ९२ हजार पाँचसय रुपियाँ जरिवाना असुली भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताउनुभयो । कारबाहीमा सबैभन्दा बढी मोटरसाइकल दुई हजार तीनसय ४८ र कार, जिप एक हजार नौ सय ४० कारबाहीमा परेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ओभरलोड, सिट क्षमता विपरीत सवारी साधन सञ्चालन, मापसे गरी सवारी सञ्चालन, लाइसेन्स नबोकी सवारी सञ्चालन गरेकाहरू कारबाहीमा परेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अभियान सञ्चालन गरेको छ । मापासे गर्नेलाई अनिवार्य ट्राफिक सचेतना कक्षा लिनुपर्ने, दुर्घटना न्यूनीकरणसम्बन्धी पर्चा पम्पलेट वितरण, चालकका साथै यात्रुसँग सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी ज्ञान प्रदान गरिएको ट्राफिक प्रमुख विष्टले जानकारी दिनुभयो ।
चाडपर्वलाई लक्षित गर्दै यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले तनहुँको छ स्थानमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको र चेकजाँचलाई तीव्रता दिइएकाले ठूलो सङ्ख्यामा कारबाहीमा परेको विष्टको भनाइ छ । चाडपर्वको बेला यात्रुले विभिन्न सास्ती हुनसक्ने भएकाले पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौंडा र सहायक मार्गहरु भीमाद नगरपालिकाको भीमाद बजार र भानु नगरपालिकाको फुर्कोट, बाईसजाँगरमा ‘सहायता कक्ष’ स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।