रेखीराम राना
तानसेन, मङ्सिर ५ गते । पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला मङ्सिर ७ गतेदेखि लाग्ने भएको छ । मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने छ ।
तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । यो वर्ष मेला पाँच दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्दै आएको छ । परापूर्वकालमा सत्यवती बज्यै घनाजङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्तीमा उल्लेख छ ।
सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । वडाध्यक्ष तुलबहादुर आलेका अनुसार यही विश्वासका कारण हरेक वर्ष तिहारपछिको पूर्णिमाको मेलामा हजारौँ भक्तजन वर माग्न सहभागी हुने गरेका छन् । पछिल्लो समय भक्तजनबाटै प्रभावकारी प्रचारप्रसार भएका कारण भक्तजन थपिने क्रम बढेको बताइन्छ । वर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी, कुखुराका भाले, परेवासमेत बलि चढाइन्छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले परापूर्वकालदेखि नै वर माग्न नेपालका रुपन्देही, पाल्पा, स्याङ्जा, कपिलवस्तु, चितवन, कास्की जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सत्यवती ताल क्षेत्रको संरक्षण गर्दै वर माग्न आउने भक्तजनको सुविधाका लागि सडक मर्मतको काम भइरहेको छ ।
यो वर्ष दुई लाखभन्दा बढी भक्तजन वर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा गरिएको छ । गत वर्ष चिच्याएर वर माग्न आउने सहभागीबाट २१ लाखभन्दा बढी भेटी तथा अन्य जिन्सी सामग्री दानका रूपमा सङ्कलन भएको थियो । मन्दिरभित्र भक्तजनले चढाएको दानलाई व्यवस्थित गर्दै लैजाने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।