अमरराज नहर्की
तनहुँ, मङ्सिर ४ गते । तनहुँको एक विद्यालयले विद्यार्थीलाई खेतमा लगेर जीवनाेपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ । यस्तो शिक्षा दिनेमा व्यास नगरपालिका– ९ गजौंडे, झिनुवाटारस्थित माहेन्द्री माध्यमिक विद्यालय छ । कक्षाकोठाको अध्ययनको अतिरिक्त व्यावहारिक ज्ञानका लागि अभ्यास गराउन खेतमै शिक्षा प्रदान गर्ने गरिएको हो ।
किताबी ज्ञानले मात्रै विद्यार्थीले सीप सिक्न नसक्ने भएकाले व्यावहारिक ज्ञान दिन खेतमा शिक्षा प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थी किसान बन्न पाउँदा हौसिने गरेका छन् । कक्षाकोठाभित्र बसेर निश्चित पाठ्यपुस्तकमा मात्रै गरिने अध्ययन अपर्याप्त हुने हुँदा व्यावहारिक ज्ञान प्रदान गर्नका लागि विद्यार्थीलाई खेतमा लगेर शिक्षा प्रदान गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार विद्यार्थीलाई यतिबेला धान काट्न अभ्यास गराइएको छ । उक्त खेतबाट करिब ४० मुरी धान उत्पादन हुन्छ । पाक्नुअघि विद्यालय विद्यार्थीको सहयोगमा धान रोप्ने, गोड्ने, काट्ने काम गरिएको थियो । विद्यार्थीहरुलाई कक्षाकोठमा मात्रै सीमित नराखी प्रयोगात्मक सिकाइ सिकाउने अभियानस्वरुप धान काट्न लगाइएको अध्यक्ष पौडेलको भनाइ छ । विद्यार्थीहरुले यतिबेला कवादी दोभानमा विद्यालयका स्वामित्वमा रहेको खेतको धान काटेका छन् । कक्षा ६ देखि १२ मा अध्ययनरत विद्यार्थीहरु निकै उत्साहका साथ धान काट्न व्यस्त बनेका हुन् ।
विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने र आयआर्जन बढाउने उद्देश्यले विद्यालयको साढे ८ रोपनी र बाँकी खेर गएको बाँझो जमिन गरी १५ रोपनी क्षेत्रफलमा मन्सुली जातको धान रोपेको विद्यालयका प्रधानाध्यापक शिवचन्द्र आचार्यको भनाइ छ । विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिनका लागि कृषिसँग जोड्ने विद्यालयको काम महत्त्वपूर्ण भएको व्यास नगरपालिका ९ का वडाध्यक्ष सुरेश थापाले बताउनुभयो । कृषिप्रधान देशमा कृषिको अवस्थाको बारेमा जानकारी गराउन पनि यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सहयोग पुग्ने वडाध्यक्ष थापाको भनाइ छ ।
शिक्षकहरुसँग पठनपाठनमा मात्रै नभई बाहिरी क्रियाकलापमा सरिक हुन पाउँदा निकै खुशी लागेको कक्षा ९ की छात्रा समृद्धि आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘‘विद्यालयको अध्ययनसँगै शिक्षकहरुसँंग धान काट्ने बाहिरी क्रियाकलापमा सरिक हुन पाउँदा निकै खुशी लागेको छ ।’’ पन्ध्र असारमा धान रोपाइँ गरेको बिचमा गोड्न र अहिले सबै विद्यार्थी मिलेर काटिएको कक्षा ९ का मिलन परियारले बताउनुभयो । धान रोप्ने आली लगाउने, कुना खन्ने, धान गोड्ने, काट्ने काम सिकेको परियारको भनाइ छ । परियारले भन्नुभयो, ‘‘किसानका दुःख र सङ्घर्ष सिक्ने अवसर प्राप्त भयो समाजका दुःखसुख बुझियो ।’’