चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित बाल्देन माध्यमिक विद्यालयको एकैपटक दुईवटा पक्की भवन निर्माण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे र ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) नामक संस्थाको आर्थिक सहयोगमा आठ कोठे भवन निर्माण गरिएको हो ।
जिल्लाकै दुर्गम भेगअन्तर्गत पर्ने पापुङको एकमात्र बाल्देन माध्यमिक विद्यालयको सरकारी तथा गैरसरकारी बजेट लगानीबाट एकैपटक दुईवटा पक्की भवन बनेका हुन् । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत आएको ३६ लाख र गाउँपालिकाको थप १० लाखसमेत गरी ४६ लाख रुपियाँको लागतमा चार कोठे भवन निर्माण गरिएको हो ।
यस्तै, एचपीएफको आर्थिक सहयोग ८३ लाख र गाउँपालिकाको थप रकम २० लाख रुपियाँ गरी कुल एक करोड तीन लाख रुपियाँको लागतमा आठ कोठे विद्यालय भवन निर्माण भएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटै भवन गत जेठभित्रै निर्माण सम्पन्न भएको र उक्त भवनहरूको भर्खरै मात्र उद्घाटन गरिएको छ ।
एचपीएफमार्फत आर्थिक सहयोगदाता विदेशी नागरिक सालोस र मिक्वाखोला गाउँपालिका अध्यक्ष कार्की, उपाध्यक्ष डण्डु लामा र वडाध्यक्ष ग्यान्जे शेर्पाले संयुक्त रूपमा दुईवटै भवनको उद्घाटन गर्नुभएको छ । विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पूर्णबहादुर साँवाले जानकारी दिनुभयो ।