दिवाकर पोख्रेल
देउखुरी मङ्सिर ३ गते । दाङबाट स्वर्गद्वारी आश्रममा रहेका गाईका लागि पराल दान गरिएको छ । आश्रमको नाममा एक हजार एकसय बिघा जग्गा भए पनि आयस्ता नउठ्दा गाईका लागि चाहिने घाँस, पराल दानको रुपमा सङ्कलन गर्ने गरिएको छ ।
देउखुरीका उद्योगी व्यवसायी, जनप्रतिनिधिले गाईलाई खुवाउने पराल हरेक बर्ष दानको रुपमा उपलब्ध गराउँदैआएका छन् । लुम्बिनी प्रदेशको प्रशिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा रहेको गौशलामा पालिएका गाईलाई वार्षिक एक हजार चारसय ट्याक्टर पराल आवश्यक पर्छ ।
दैनिक पाँच क्विन्टल दाना गाईलाई खुवाउने गरिएको छ । आश्रम स्थापना भएदेखि नै स्वर्गद्वारीमा गाई पालिंदैआएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दाङ देउखुरीमा एक हजार एकसय बिघा जग्गा भए पनि त्यसबाट आयस्ता उठ्दैन । जसले गर्दा प्युठानको आश्रममा पालिएका झण्डै चारसय गाईका लागि खुवाउने घाँस, पराल, दाना दान मागेर पुर्याउनु परेको छ ।
हरेक वर्ष देउखुरीका युवाहरुले आश्रममा पालिएका गाईलाई खुवाउन पराल दाना दिंदैआएका छन् । यस वर्ष २४ ट्याक्टर पराल दान दिएको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलजंगसिंह ठकुरीले जानकारी दिनुभयो ।
स्वर्गद्वारीमा पालिएका गाईबाट प्राप्त हुने मलमूत्रलाई मलको रुपमा प्रयोग गरिदै आएको छ भने दुधलाई पञ्चामृतको रुपमा उपभोग गरिन्छ । अखण्ड यज्ञ चलाउन गाई अनिवार्य रुपमा पाल्नुपर्ने भएकाले अहिलेसम्म गाई पालिदैआएको हो । सशस्त्र द्वन्द्व सुरु हुनुभन्दा अघिसम्म आश्रमको नाममा रहेको जग्गाबाट आयस्तासँगै घाँस, पराल, भुसहरु संकलन हुँदैआएको थियो ।
द्वन्द्वपछि जग्गाहरु अतिक्रमणमा परेसँगै कुत बुझाउन छाडिएको छ । जसले गर्दा आश्रममा पालिएका गाई मात्र होइन, यज्ञको कर्म चलाउन पनि मुस्किल पर्नेगरेको छ । दान सहयोगबाट नै गौशलामा पालिएका गाईलाई घाँस, पराल, अखण्ड यज्ञलाई निरन्तरता दिइएको स्वर्गद्वारी आश्रमका कोठारी तामुप्रसाद न्यौपानेले जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, ‘आश्रमको नाममा रहेको जग्गाबाट कोत उठ्दैन अन्यत्र बाटै सहयोग दान जम्मा गरेर गाई पालेका छौं, यस्तै, सहयोगले आश्रमको पूजाआजादेखि गाईपालनलाई निरन्तरता दिँदै आएका छौ ।’
पराल लगेर स्वर्गद्वारी आश्रममा पुग्नुभएका दाङको लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले तीन तहका सरकारबाट आश्रमको सहयोगसँगै यस्को निरन्तरताका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।