• ९ मंसिर २०८१, आइतबार

बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याइ

blog

जलेश्वर, कात्तिक ३० गते । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरू डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन्  । 

मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भन्नुभयो, “जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।” छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताउनुभयो । गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमिनले भन्नुभयो, “कात्तिक लाग्ने बित्तिकै  बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ । यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ ।” 

छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच-सात बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ । सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताउनुभयो । 

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र  दुनाटपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताउनुभयो । त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति ४० देखि ५० हजार र प्रत्येक परिवारले दुई-तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो ।  

अहिले जिल्लाको प्रत्येक पालिकाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् । दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ । तराई–मधेशमा बेतबाट बनेको सामग्री किन्नेको भिडभाड रहेको छ । रासस