• २८ पुस २०८१, आइतबार

टिकटक प्रतिबन्धको बहस

blog

गोविन्द आचार्य, विपुल पोखरेल र डा. कुन्दनराज अर्याल । फाइल तस्बिर

 विष्णु पाण्डेय

काठमाडौं ,कात्तिक २७ गते। सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो। सरकारले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा यसको बहस चर्किएको छ।

सरकारले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै यो निर्णयको पक्ष र विपक्षमा बहस चर्किएको छ। कतिपयले सकारात्मक प्रतिक्रिया दिएका छन् भने कतिपयले नकारात्मक टिकाटिप्पणी दिएका छन्। 

कसैले यसलाई सरकारको सकारात्मक कदमको रुपमा लिएका छन् भने कतिपयले व्यक्तिगत स्वतन्त्रताको हनन् भएको रुपमा व्याख्या गरेका छन्। सरकारले टिकटकको माध्यमबाट सामाजिक विकृति बढिरहेको भन्दै प्रतिबन्ध लगाएको हो। केही विज्ञले आफ्ना तर्कहरु प्रस्तुत गर्नुभएको छ।

प्रधानमन्त्रीका  प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले टिकटकबाट सामाजिक विकृतिहरु फैलिरहेकाले सरकारले यसलाई बन्द गर्नुपरेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “व्यक्तिगत स्वतन्त्रताका लागि अरु पनि सामाजिक सञ्जाल फेसबुल, ट्वीटर, इन्टाग्रामलगायतका छन्। तर, टिकटकबाट समाजमा नकारात्मक कुराहरु मात्र फैलिरहेकाले सरकारले यसलाई बन्द गर्ने निर्णय गरेर राम्रो काम गरेको छ।” 

टिकटकका माध्यमबाट संवेदनशील अंगहरु प्रदर्शन गर्ने, अरुलाई गाली गलौच गर्नेजस्ता विकृतिजन्य कामहरु बढ्न थालेपछि बन्द नै गर्नुपरेको उहाँले बताउनुभयो।

कतिपय प्रजातान्त्रिक देशमा पनि टिकटक प्रतिबन्ध नै रहेकाले नेपालमा यो बन्द हुँदैमा स्वतन्त्रता नै खोसियो भनेर सोच्न नहुने उहाँको तर्क छ। 

आचार्यले भन्नुभयो, “छिमेकी देश भारत, चीनले पनि प्रतिबन्ध गरेका छन्। अमेरिका, अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएका छन्। प्रजातान्त्रिक देशले पनि टिकटकमा प्रतिबन्ध लगाएका छन्। त्यसैले टिकटक प्रतिबन्ध हुँदैमा व्यक्तिगत स्वतन्त्रता हनन्  हुँदैन।” टिकटकबाट कमाइ हुने रकम पनि पारदर्शी नहुने भएकाले यसको उपयोग प्रभावकारी नभएको उहाँको भनाइ छ। 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डा. कुन्दन अर्यालले सरकारले टिकटकको प्रतिबन्ध गर्नु हतारको निर्णय भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “सरकारले टिकटक प्रतिबन्ध गर्ने निर्णय हतार भयो। अध्ययन गर्नु राम्रो हुन्छ।” विज्ञान तथा प्रविधिका जहिले पनि फाइदा र बेफाइदा नै हुने भएकाले बेफाइदाको पहिचान गरेर नियमन गर्नुको साटो प्रतिबन्ध नै लगाउनु जायज नभएको उहाँको भनाइ छ। 

टिकटकका सबै नकारात्मक कुराहरु मात्र नभइ यसले ज्ञान, प्रविधि र संस्कृतिमा समेत योगदान गर्ने भएकाले विना अध्ययन यसलाई प्रतिबन्ध गर्नु ठीक नहुने उहाँको तर्क छ।  

उहाँले भन्नुभयो, “विज्ञान, प्रविधिको जहिले पनि राम्रा  र नराम्रा पक्ष हुन्छन्। नराम्रा पक्षलाई कानुनसम्मत तरिकाले नियमन गर्दै लानुपर्छ। प्रतिबन्ध नै लगाउन भने हुँदैन।” 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल पनि सरकारले हतारमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बताउनुहुन्छ। 

टिकटकमा भएका नकारात्मक कुराको  नियमन गर्ने संयन्त्र रहेकाले टिकटकलाई नै पूर्ण रुपमा प्रतिबन्ध गर्न नुहने उहाँको तर्क छ। उहाँले भन्नुभयो, “टिकटकबाट सामाजिक विकृति फैलिएको भए त्यसलाई नियमन गर्ने संयन्त्र छन् , त्यसको प्रयोग गरेर विकृति हटाउन सकिन्छ। बन्द गर्नु नै राम्रो होइन।”

सामाजिक विकृतिजन्य कुरा सामान्य चियापसलबाट पनि हुनसक्ने भएकाले यसको प्रतिबन्धभन्दा पनि विकृतिको नियमन गर्दै जानुपर्ने उहाँ बताउनुहुन्छ।