• ८ मंसिर २०८१, शनिबार

एक हप्ते थाहा फिल्म फेस्टिबलको तयारी

blog

थाहा कला केन्द्रको आयोजनामा मकवानपुरको थाहा नगरमा हुने थाहा फिल्म फेस्टिबल–२०२३ को तयारी गरिँदै ।

राममणि दाहाल

हेटौँडा, कात्तिक २७ गते । मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिबल–२०२३ को तयारी तीव्र बनाइएको छ ।

पर्यटनका लागि फिल्म फेस्टिबल भन्ने नाराका साथ थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिबल–२०२३ को प्रचार प्रसारलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको हो ।

मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिबल–२०२३ मा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग छ । 

थाहा फिल्म फेस्टिबल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले थाहा फिल्म फेस्टिवलका क्रममा चलचित्र, लघुचलचित्र र वृत्तिचित्र प्रदर्शनी गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले चलचित्र, लघुचलचित्र र वृत्तचित्र निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको बताउँदै थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्मसिटीको रुपमा विकास गर्ने उद्देश्यसहित एक हप्ते फिल्म फेस्टिवल आयोजना गरिएको बताउनुभयो ।

फिल्म फेस्टिबलका अवसरमा थाहा नगरको पर्यटन प्रवर्धनका लागि बनाइएका वृत्तचित्रहरु प्रदर्शनी गरिनेछ । यस्तै, सो अवधिमा चलचित्र निर्माता, निर्देशक, कलाकार लगायतको सहभागितामा थाहा नगरभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने भएको छ । 

साथै कलाकारको सम्मान, निर्माता, निर्देशक तथा निर्माण समूहसँग अन्तर्क्रियालगायतका गतिविधि सञ्चालन गरिने आयोजक समितिका संयोजक जोशीले बताउनुभयो । थाहा फिल्म फेस्टिबल अवधिमा दुई दर्जन चलचित्र, लघुचलचित्र लगायत प्रदर्शनी गरिने बताइएको छ ।