• ९ मंसिर २०८१, आइतबार

एक सय ८३ ग्राहकको लाइन काटियो

blog

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, कात्तिक २५ गते ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले विद्युत महसुल नतिरेका एक सय ८३ जना ग्राहकको लाइन काटेको छ ।

विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका लेखा प्रमुख विष्णु न्यौपानेका अनुसार विद्युत् महसुल नतिर्ने एक सय ८३ जना ग्राहकको लाइन काटिएको जानकारी दिनुभयो । लाइन काटिएकामध्ये एक सय ३० जनाले रकम बुझाएर लाइन जोड्नका लागि निवेदन दिएकाले पुनः लाइन जोडिएको केन्द्रले जनाएको छ । जसबाट १५ लाख ९८ हजार ६६७ रुपियाँ बक्यौता रकम उठेको न्यौपानेले बताउनुभयो ।

गुल्मीमा २१ लाख ४५ हजार ९६७ रुपियाँ बक्यौता रकम उठाउन बाँकी रहेको केन्द्रका प्रमख अर्जुन पोखरेलले जानकारी दिनुभयो । जिल्लामा राजनीतिक दलका पार्टी कार्यालय, सरकारी कार्यालय, लिफ्टिङ खानेपानी, सङ्घ संस्था र सर्वसाधारणले विद्युत् महसुल नतिरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । महसुल नतिर्ने ग्राहकहरुमा एक हजारदेखि लिएर तीन लाख रुपियाँसम्मको बक्यौता रकम  छ ।

सरकारी कार्यालय, राजनीतिक दल र अन्य संघ संस्थालाई महसुल तिर्न चेतावनीसहितको पत्राचार गरिएको पोखरेलले जानकारी दिनुभयो । यसका साथै जिल्लाका सञ्चार माध्यमहरुबाट महसुल तिर्न सूचना पनि प्रसारण गरिएको भन्दै अटेरी ग्राहकहरुको लाइन काटेरै छाड्ने पोखरेलले चेतावनी दिनुभयो ।

तिहारलगत्तै विद्युत् महसुल नतिर्ने अन्य ग्राहकहरुको लाइन काट्ने क्रमलाई अभियानकै रुपमा चलाइने वितरण केन्द्र प्रमुख पोखरेलले बताउनुभयो ।