रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, कात्तिक २५ गते । रुकुमपश्चिमको भूमे गाउँपालिकामा विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेका लागि बिनाब्याज शैक्षिक ऋण (कर्जा) लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको छ ।
गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका विपन्न विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्नेलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिनाब्याज शैक्षिक ऋणको व्यवस्था गरेको छ । बिनाब्याज शैक्षिक ऋण लिने विद्यार्थीको सङ्ख्या न्यून रहेको हो ।
आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरिएको बिनाब्याज शैक्षिक ऋण कार्यक्रममा हालसम्म आइएससिएजी, भेटेरिनरी र डिप्लोमा सिभिल इन्जिनियरिङमा दुई दुई गरी जम्मा छ जना विद्यार्थीले मात्र शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको गाउँपालिकाका प्रशासन एकाइका प्रमुख चेतन बुढामगरले बताउनुभयो ।
गाउँपालिकाले विपन्न विद्यार्थी र उच्च शिक्षा हासिल गर्नेका लागि बिनाब्याजमा शैक्षिक ऋण दिने व्यवस्था भए पनि ऋण लिनेको सङ्ख्या न्यून रहेको बुढामगरले जानकारी दिनुभयो ।
ऋणप्रतिको बुझाइको कमी र प्रचारप्रसारको कमीले गर्दा बिनाब्याज शैक्षिक ऋण लिनेमा विद्यार्थीको सङ्ख्या न्यून रहेको हुन सक्ने उहाँको भनाइ रहेको छ ।
आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले विद्यार्थीको शैक्षिक प्रमाणपत्रका आधारमा बिनाब्याज ऋण प्रदान गर्ने व्यवस्था ल्याइएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो ।
उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि उक्त व्यवस्था बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकामा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गरेका जनशक्ति कम मात्रामा रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाभित्र नै उच्च शिक्षा र प्राविधिक धारतर्फ जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यले बिनाब्याज शैक्षिक ऋण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीको रुचिका विषयमा उच्च शिक्षा र प्राविधिक धारतर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि गाउँपालिकाले किस्ताबन्दीमा ऋण दिने व्यवस्था रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले बताउनुभयो ।
ऋण लिएर अध्ययन गरेको विद्यार्थीले अध्ययन पूरा गरेको एक वर्षमा २५ प्रतिशत, दुई वर्षमा ५० प्रतिशत, तीन वर्षमा ७५ प्रतिशत र चार वर्षमा ऋण चुक्ता एवं एकमुष्ट ऋण तिरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिनुभयो ।
यदि उक्त ऋण दुरुपयोग गरेको पाइएमा र सम्झौता अनुसार समयमा ऋण फिर्ता गर्न नसकेमा शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका बमोजिम कानुनी कारबाही गरिने व्यवस्था रहेको समेत विकले बताउनुभयो ।
यसै गरी नयाँ प्रतिभावान् र जेहेनदार तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत पनि गाउँपालिकाले पढाइ रहेको छ । हाल उद्यम विकास सहजकर्ता र विद्युत् प्राविधिकमा चार/चार जना गरी आठ जनालाई छात्रवृत्तिमा गाउँपालिकाले पढाइराखेको गाउँपालिकाले जनाएको छ ।