• २८ पुस २०८१, आइतबार

थवाङ विचार र क्रान्तिको प्रतीक हो : प्रधानमन्त्री

blog

शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर प्रदीपराज वन्त

रोल्पा, कात्तिक २४ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यही आधार बनाएर गरिएको थियो ।’’

“थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।’’ प्रधानमन्त्रीले भन्नुभयो, “थवाङलाई देशले मात्रै चिन्दैन, सिङ्गो विश्वले चिन्छ । यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ ।’’


प्रचण्डले भन्नुभयो, “क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बाङ्गोटिङ्गो हुन्छ । यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ । यो विज्ञानको नियम हो । जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो । अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं । संंविधानमा नै समाजवादको सङ्कल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ ।’’

“आगामी विशेष महाधिवेशनमा हामीले समाजवादको बाटो थप स्पष्ट पार्छौं । त्यहाँ गएर विचारको विकास र संश्लेषण पनि गर्छौं । समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिन्छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, “रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे । आजको नयाँ परिस्थितिमा नयाँ ढङ्गले क्रान्तिको नेतृत्व गर्नुपर्छ । समाजवादी क्रान्तिको लागि थवाङले फेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ ।’’

“शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदैछ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौ ।’’ प्रधानमन्त्रीले भन्नुभयो ।


उहाँले थप्नुभयो, “समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ । मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ । यो निकै ठूलो काम हो । सरकारले विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ । यसले विदेशमा रहेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन । यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ ।’’

“उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ । अहिले सात अर्ब छुट्याइएको छ । छिट्टै थप सात अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्द्धन गर्छौं ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, “म सरकारमा आउँदा देश श्रीलङ्का बनिहाल्छ कि भन्ने थियो । अहिले त्यो अवस्था छैन । अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर दबाबमुक्त भइसकेको छैन । तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु ।’’

“सरकारले कूटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ । भारत भ्रमणबाट सुरू भएको कूटनीतिक यात्रा संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ । नेपाल–भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिबद्धता भएको छ । २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ । १० वर्षमा १० हजार बिजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन् ।“ प्रधानमन्त्रीले भन्नुभयो ।

“संयुक्त राष्ट्रसङ्घको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शिर उच्च बनाएको छ । चीनसँग नाका खोल्ने सम्झदारी भएको छ । कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, “चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ । त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ ।’’


प्रधानमन्त्रीले भन्नुभयो, “सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ । हिजो क्याबिनेटबाट स्वीकृत भएको छ । यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ । सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ । हिजो क्याबिनेट बैठकले देशका ३ वटा रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौं । यी निकै महत्त्वपूर्ण निर्णय हुन् ।’’

प्रधानमन्त्रीले भन्नुभयो, “थवाङमा पछिल्लोसमय राम्रो विकास भएको छ । गणतन्त्रपछि राम्रो प्रगति भएको छ । भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ । तपाईहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु । यसका लागि थप पहल गर्नेछु ।’’

सहिदमार्ग युद्धकालमा मैले नै प्रस्ताव गरेको थिएँ । यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ । विद्युतीकरणका बाँकी काम पनि टुङ्गाइनेछ । नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ । समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ ।’’

कार्यक्रममा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले पार्टीभित्र र देशमा रूपान्तरणको अभियान चलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई पनि देशका सात वटा वडामा जाने गरी कार्यविभाजन गरिएको थियो । त्यही योजनामा उहाँ आज थवाङ आउनुभएको छ । आफैमाथि प्रश्न उठाउने, आफैंलाई शुद्धीकरण गर्ने काम महत्त्वपूर्ण छ । माओत्सेतुङपछि पार्टीभित्र र देशमा शुद्धीकरण अभियान चलाउनेमा माओवादी पार्टी र अध्यक्ष प्रचण्ड नै हो । हामी समाजवादमा जाने कोसिस गरिरहेका छौं । सरकार र पार्टी दुवै ठाउँमा शुद्धीकरण अभियान चलाइरहेका छौं । देशमा भ्रष्टाचारविरोधी अभियान, पार्टीभित्र विशेष रूपान्तरण अभियान सिङ्गो राजनीतिक आन्दोलनको शुद्धीकरण पनि हो । यो निकै महत्त्वपूर्ण छ ।’’

रोल्पाको विकासबारे बोल्दै नेता पुनले भन्नुभयो, “रोल्पामा गुणात्मक विकास भएको छ । पहिला ५/६ गाविसमा बाटोले जोडेको थियो । अहिले ७१ वडामा नै मोटरबाटोले छोएको छ । पहिला १०/११ वडामा बिजुली थियो, अहिले सबै वडामा पुगेको छ । गणतन्त्रअघि र गणतन्त्रपछिको विकासको तुलना गरेर हेरौं, २५० वर्षमा नभएको विकास गणतन्त्रको पछिल्लो १५ वर्षमा भएको छ। यो आजको तथ्य हो ।’’