• १३ असोज २०८१, आइतबार

पासाङको पुस्तक सरलता र इमानदारिताको प्रतीक : प्रधानमन्त्री

blog

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तकको लोकार्पणपछि बोल्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताउनुभएको छ ।

बिहीबार दिउँसो बालुवाटारमा पुनद्वारा लिखित पुस्तकको लोकार्पणपछि बोल्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पासाङको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् । तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारिता प्रस्तुत गर्नुभएको छ ।’’


‘‘म अढाई वर्ष उहाँको घर रोल्पाको गाडागाउँमा बसेँ। मैले पासाङजीलाई एकदमै नजिकबाट चिनेको छु । उहाँ छलकपटरहित, सोझो, इमानदार, सरल, पारदर्शी र मिलनसार व्यक्तित्व हुनुहुन्छ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘उहाँले पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै शङ्का गर्नुभएन । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरबाही गर्नुभएन । जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि मेरो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता उहाँ हो ।’’

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘उपराष्ट्रपति भइसकेपछि उहाँले आफ्नो शालीनता र जिम्मेवारीबोध राम्रैसँग देखाउनुभयो । उहाँलाई उपराष्ट्रपतिमा मैले नै प्रस्ताव गरेको थिएँ । त्यो दिन म अत्यन्तै खुसी थिएँ । उहाँले आफ्नो कार्यकाल गरिमाका साथ पूरा गर्नुभयो । उहाँ एक जना अत्यन्तै असल मान्छे हो, अहिलेको समाजमा यस्ता मानिसहरू भेट्न मुस्किल पर्छ ।’’


‘‘पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठुलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेँ । त्याग र बलिदानको कीर्तिमान एवम् मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहसहरू पनि छन् । तर, एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो ।