चितवन समाचारदाता
चितवन, कात्तिक २३ गते । पवित्र धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा करिब २२ लाख रुपियाँको लागतमा निर्माण भएको कलात्मक ढुङ्गेधारा उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्माण गरिएको उक्त कलात्मक ढुङ्गेधाराको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
देवघाटधाम आउने तीर्थालु तथा मलामीलाई लक्षित गरी बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाले धाराको निर्माण गरेको हो ।
महानगर प्रमुख दाहालले ढुङ्गेधारा निर्माण स्थललाई आकर्षक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले देवघाट क्षेत्रको विकास गर्न महानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आइरहेको जानकारी दिनुभयो ।
देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्नति, शवदाह गृहलगायतका महìवपूर्ण पूर्वाधार निर्माणका कार्य भइरहेको जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलले चिसापानी मुहानबाट करिब तीन किमी भूमिगत पाइपमार्फत धारामा पानी ल्याएको जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपियाँ खर्च भएको प्रमुख पौडेलले बताउनुभयो । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।