• १ जेठ २०८२, बिहिबार

मर्मतमा ढिलाइ यात्रुलाई सास्ती

blog

घोराही समाचारदाता

घोराही, कात्तिक २३ गते । म्याद सकिएको २१ दिन बितिसक्दा पनि घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारीसाधन सञ्चालनसँगै धुलोका कारण जनताले दिनहुँ दुःख पाइरहेका छन् । करिब २७ किलोमिटर सडक मर्मतका लागि चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन् । २०८० असोज मसान्तसम्म सडक मर्मत गर्ने गरी गत असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

ठेक्का सम्झौता अनुसार असोज महिनाभित्र सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म सडक मर्मतको काम नसकिएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकले जानकारी दिनुभयो । करिब ८० प्रतिशत मर्मतको काम सकिए पनि अझै २० प्रतिशत काम गर्न बाँकी रहेको जनाइएको छ । उहाँका अनुसार चार लेन सडक अन्तर्गत अन्य ठाउँको काम सकिए पनि घोराही बजारदेखि सर्रासम्म र तुलसीपुरको बिजौरी क्षेत्रमा सडक मर्मतको काम अझै हुन सकेको छैन । समयमै काम गरेको भए अहिलेसम्म सकिनुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलाइ कारण काम हुन नसकेको उहाँले बताउनुभयो । 

इन्जिनियर विकले भन्नुभयो, “असोजको मसान्तभित्र सडक मर्मतको काम सक्ने गरी सम्झौता भएको थियो तर निर्माण व्यवसायीको ढिलाइका कारण समयमा मर्मत सकेको छैन ।” उहाँका अनुसार निर्माण व्यवसायीले २३–२४ गतेभित्र सडक मर्मतको काम सक्ने बताए पनि सकिने अवस्था छैन । इन्जिनियर विकले भन्नुभयो, “निर्माण व्यवसायीले इमानदार भएर काम गर्ने हो भने धेरै समय लाग्ने देखिँदैन ।” चार लेन सडक निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्नका लागि सडकलाई दुई खण्डमा विभाजन गरेर कार्यालयले ठेक्का सम्झौता गरिएको थियो । जस अनुसार घोराहीको कुइरेपानीदेखि हापुरखोलासम्म रोल्पा निर्माण सेवा प्रालिसँग र हापुर खोलादेखि तुलसीपुरसम्मको सडक मर्मतका लागि रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । 

रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले घोराही–तुलसीपुर सडकखण्डको हापुर खोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा मर्मतको ठेक्का र रोल्पा निर्माण सेवा प्रालिले कुइरेपानीदेखि घोराहीको हापुर खोलासम्मको सडक एक करोड ४२ लाख रुपियाँमा मर्मतका लागि ठेक्का सम्झौता गरेका थिए ।