• २० असोज २०८१, आइतबार

सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष, यस वर्ष विशेष कार्यक्रम

blog

काठमाडौँ, कात्तिक २३ गते । सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष पुगेको अवसरमा काठमाडौँमा यस वर्ष विशेष कार्यक्रमसहित सामूहिक भाइटीकाको आयोजना गरिने भएको छ । समाजसेवी अञ्जली दिदी (अञ्जली मास्के) ले विसं २०५५ देखि काष्ठमण्डपमा विविध कारणले दिदीबहिनीको हातबाट भाइटीका लगाउन जान नपाएका दाजुभाइलाई सामूहिक भाइटीका लगाउँदै आउनुभएको छ । यस वर्ष निरन्तर २५ वर्षसम्म टीका लगाउने दाजुभाइलाई सम्मान, उपहारसहित टीका लगाउने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले हरेक वर्ष दुई सयभन्दा बढी जनाका लागि भाइटीकाका लागि सामग्रीको तयारी गर्नुहुन्छ । यस वर्ष पनि ती सामग्रीको व्यवस्थापन गरिसकेको बताउनुभयो । 

सामूहिक टीका लगाएपछि उहाँको परिचय फेरिएर सबैको अञ्जली दिदी हुनुभएको छ । 

अञ्जली दिदी भन्नुहुन्छ, “काष्ठमण्डपमा स्थापित गोरखनाथ मन्दिरमा दैनिक पूजा–प्रार्थनाका लागि जान्थेँ, गोरखनाथकै पे्ररणा र कृपाले दाजुभाइका लागि सामूहिक टीका लगाउने कार्यक्रम सुरु गरेँ, मैले सकुन्जेल यो काम गर्छु ।” सामूहिक भाइटीकाकै कारण सबैकी दिदी भनेर चिनिनुभएकी अञ्जली दिदीले  विसं २०७२ मा काष्ठमण्डप भत्केपछि भने त्यस वरपरको डबलीमै  सामूहिक भाइटीका लगाएर भए पनि दाजुभाइको निधार खाली राख्नुभएन । तिहार पर्व आएपछि दाजुभाइले उहाँसँगै टीका थाप्न आउने तयारीस्वरूप आफ्नो नामसमेत टिपाउनुहुन्छ । 

उहाँले जजङ्का, माला, भाइमसलासँगै सगुन (रक्सी, अन्डा, बारा, दही) र मौसमी फलफूलसहित विविध प्रकारका खानेकुरासहित विधिपूर्वक दाजुभाइलाई टीका लगाइदिनुहुन्छ । नाम टिपाएको भन्दा  बढी दाजुभाइ टीकाका लागि आए पनि अञ्जली दिदीले नरिवल, जजङ्का मात्र भए पनि प्रदान गर्नुहुन्छ । 

उहाँले दाजुभाइको निधार खाली नहोस् भनेर श्रद्धापूर्वक थालेको सामूहिक भाइटीकामा शिक्षक, सैनिक, प्रहरी, पत्रकार, समाजसेवी  स्वदेशी तथा विदेशीलगायत सबै जातजाति वर्ग समुदायका दाजुभाइ सहभागी हुने बताउनुभयो  । उहाँहरूको माया, ममता नै सबै थोक हो । त्यस कारण म कुनै उपहार लिन्न भन्नुहुन्छ । उहाँले विसं २०५५ देखि १०८ जनालाई भाइटीका लगाएर सुरु गर्नुभएको सामूहिक भाइटीका विसं २०५६ देखि भने बर्सेनि दुई सय आठ जना हुने गरेका छन् ।