• ८ मंसिर २०८१, शनिबार

त्रिभुवन आर्मी क्लबले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कप

blog

उपाधिसहित विजेता त्रिभुवन क्लबको टोली। तस्बिर: गोरखापत्र

सिराज खान

नेपालगन्ज, कात्तिक २३ गते । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र  विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ । 

बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित गरेर उपाधि हात पारेको हो । उपाधिसँगै त्रिभुवन क्लबले प्रथम पुरस्कार ८ लाख नगद र दोस्रो भएको चर्च व्वाईजले ४ लाख नगद पुरस्कार हात पारे । 

त्रिभुवन क्लबका सरोज श्रेष्ठले  खेल सुरु भएको ३२औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ७६औँ मिनेटमा मान बहादुर आले मगरले गरेका थिए । त्रिभुवन क्लबका खेलाडी मान बहादुर आले मगरलाई म्यान अफ द म्यान घोषणा गरिएको थियो । 

त्रिभुवन क्लबकै यधा शाही उत्कृष्ट डिफेन्डर,  विशाल बस्नेत उत्कृष्ट मीड फिल्डर, आदर्श बहादुर मल्ल उत्कृष्ट प्रशिक्षक, स्वच्छ टिम गोर्खा व्वाईज र रेसिङ्ग साहारा क्लबका खेलाडी सन्देश न्यौपानेलाई जनही १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो । 

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा त्रिभुवन क्लबका टङ्क बस्नेतलाई नगद ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।