• ७ जेठ २०८१, सोमबार

इन्टरनेट र फोन सेवाबाट एक करोड अष्ट्रेलियाली बञ्चित

blog

सिड्नी, कात्तिक २२ गते । मुलुकको सबैभन्दा ठुलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अष्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट वञ्चित भएका छन् ।

उक्त रहस्यमय गडबडीका कारण इलेकट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भए भने मुलुकको सबैभन्दा ठुलो सहर मेलबर्नमा भिडभाड हुने रेलहरू केही समयका लागि रोकियो ।

सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनः स्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन । “हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्‍यौँ र नयाँ कार्य गर्‍यौँ तिनीहरूले मूल समस्याको समाधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भन्नुभयो, “मूल समस्या र पुनः स्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।”

उहाँले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै सङ्केत दिनुभएन । ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो । छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घण्टा लाग्न सक्ने बताएको छ । अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ ।

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठुलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घण्टासम्म व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो । रासस/एएफपी