• २१ जेठ २०८१, सोमबार

जाजरकोट र रुकुम पश्चिममा गृह मन्त्रालयको नेतृत्वमा राहत वितरण

blog

जजारकोटका भूकम्पपीडित ।

काठमाडौं, कात्तिक २१ गते । जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थामार्फत् राहत वितरण गरिएको छ । हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोटका भूकम्पपीडितलाई वितरण गरिएको हो ।

जाजरकोटका भूकम्पपीडितलाई ब्ल्याङ्केट तीन हजार ६५५, कपडा एक हजार पाँच सय, डसना ३५ थान, सिरक ५४ थान, तन्ना ४२० थान, बेबी प्याक १०० वटा, होम टेण्ट ४७ थान, त्रिपाल तीन हजार ४०९ थान, म्याट्रेस ५३६ थान, स्लिपिङ ब्याग ६२ थान र पी.फम ५० रोल राहत सामग्री वितरण गरिएको छ ।

त्यस्तै, बाल्टिन ६६७ थान, सोलार १५३ थान, पानी शुद्धीकरणका लागि पीयूष २७४ वटा, घुम्ती शौचालय ५० वटा, हाइजिन किट २८४ थान र चामल ३० हजार ५५० केजी, दाल ७९९ केजी, खाने तेल २६२ कार्टुन, चिउरा १०२ बोरा लगायतका विभिन्न प्रकारका सामग्री वितरण भइसकेको छ ।

त्यसैगरी, रुकुम पश्चिमका भूकम्पपीडितलाई टेण्ट १० थान, त्रिपाल एक हजार सात, म्याट छ सय, कम्बल एक हजार थान, कपडा १५० थान, पी.फम २२ रोल, बाल्टिन २६७ थान, तन्ना दुई सय थान, ब्ल्याङकेट तीन सय थान, चामल छ हजार चार सय केजी, दाल एक हजार १४० केजी, तेल ३४० लिटर र पानी शुद्धीकरणका लागि पीयूष २६७ थान लगायतका विभिन्न प्रकारका सामग्रीहरू वितरण भइसकेको छ ।

गृह मन्त्रालयका अनुसार हालसम्म त्रिपाल आठ हजार ३२० थान, स्लिपिङ ब्याग एक हजार ३४५ थान, टेण्ट ३५० थान, ब्ल्याङ्केट ९० थानलगायतका गैरखाद्य सामग्री जिल्लामा पठाइसकेको छ ।

विभिन्न सङ्घसंस्थामा प्राप्त सहयोग समेत गरी यी दुई जिल्लामा गैरखाद्य सामग्री त्रिपाल १२ हजार ६८४ थान, टेण्ट ८४९ थान, ब्ल्याङ्केट सात हजार ६८५ थान, स्लिपिङ ब्याग तीन हजार २१२ थान, म्याट्रेस दुई हजार ४१५ थान, पी.फम २ रोल लगायतका सामग्री पठाइएको छ ।

यसैगरी राहत वितरणका लागि मित्रराष्ट्र भारतबाट हालसम्म त्रिपाल ६२५ थान, स्लिपिङ ब्याग दुई हजार ११२ थान, ब्ल्याङ्केट दुई हजार २३० थान र टेण्ट १४० थान प्राप्त भई जिल्ला पठाइसकिएको गृहले जनाएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पाँच–पाँच करोड रुपियाँ जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भइसकेको पनि जनाइएको छ ।

गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले राहत वितरणका लागि कार्णाली प्रदेश सरकार, काठमाडौँ महानगरपालिका, शान्ति नेपाल द्वारिकाज फाउण्डेशन, मारवाडी सेवा समिति, प्रदेश उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेश, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, विश्व खाद्य कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, दाङ र बाँकेको संयोजनमा विभिन्न स्थानीय तहलगायतका विभिन्न दाताहरुबाट प्राप्त खाद्य तथा गैरखाद्य सामग्री उल्लिखित दुई जिल्लामा पठाइएको जानकारी दिनुभयो । साथै विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार कात्तिक १७ गते राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट हालसम्म १५३ जानको मृत्यु भएको छ । यसअघि भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १७५ उल्लेख भएकोमा चार जनाको दोहोरो विवरण परेकाले सो सङ्ख्या हटाइएको हो ।

भूकम्पमा परी ३७५ जना घाइते भएकामध्ये रुकुम पश्चिममा पाँच, जाजरकोटमा तीन, बाँकेमा ४२, सुर्खेतमा १७ र काठमाडौँमा नौ गरी ७६ जना अस्पतालमा उपचाररत छन् भने बाँकी २९९ जना घाइते उपचारपश्चात् घर फर्किसकेका छन् ।

प्रवक्ता भट्टराईले सोमबार अपराह्न ४ः३१ मा जाजरकोटको रामीडाँडाँ केन्द्रबिन्दु भई गएको ५.८ रेक्टरको पराकम्पनबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा दुई जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो ।