• २० असोज २०८१, आइतबार

कालिन्चोक अतिक्रमण: एक सय ४२ जनाले पेस गरे लिखित जवाफ

blog

मनमोहक कुरी बजार । तस्विर: बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, कात्तिक २१ गते । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिन्चोकको कुरीमा अतिक्रमण गरी बनेका संरचनाको विषयमा १४२ जनाले लिखित जवाफ पेस गरेका छन् ।

कुरी क्षेत्रमा भौतिक संरचना निर्माण गरेकामध्ये १४२ जनाले मात्रै तोकिएको समय अवधिभित्र गाउँपालिकामा लिखित जवाफ पेस गरेका कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष एवम् कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिका संयोजक कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार कालिन्चोक गाउँपालिकाले गत असोज १६ गते कुरी क्षेत्रका स्थानीयसँग छलफल गरी असोज ३० गतेभित्र कुरीमा भौतिक संरचना बनाएकाहरूले जग्गाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गरिसक्न निर्देशन दिएको थियो । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले दिएको समय अवधिभित्र १४२ जनाले लिखित जवाफ पेस गरेका छन् ।  

गाउँपालिकामा प्राप्त लिखित जवाफको समितिले अध्ययन गर्न बाँकी छ । तिहार लगत्तै कुरीको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाको विषयमा अध्ययन गरी समितिले प्रतिवेदन बुझाएपछि गाउँपालिकाले आवश्यक कदम चाल्ने तयारी गरेको उहाँले जानकारी दिनु भयो ।

कुरीमा लामो समयदेखि भौतिक संरचना निर्माण गरेका तर लिखित जवाफ पेस नगरेकाहरूको हकमा के गर्ने भन्ने विषयमा पनि गाउँपालिकाले आवश्यक निर्णय गर्नेछ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले कुरीमा बनेका संरचनाको प्रकार, बनाएको मिति, संरचना बनेको जग्गाको क्षेत्रफल, कुन आधारमा बनाइएको, कसले बनाएको भन्नेबारे तीन पुस्ते विवरण सहित पालिकामा लिखित रूपमा जानकारी गराउन निर्देशन दिएको थियो । 

कालिन्चोक गाउँपालिकाले कुरीमा बनेका घर जग्गाको स्वामित्व खोज्न अध्ययन समिति नै गठन गरी काम सुरु गरेको हो । कालिन्चोक मन्दिर आसपासमा निर्माण गरिएका घर टहरा तिहार लगत्तै गाउँपालिका आफैँले हटाउने भएको छ । व्यक्तिलाई पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि पालिका आफैँले हटाउने तयारी गरेको कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । 

मन्दिर आसपास जथाभाबी घर टहरा बनाउँदा मन्दिरको सौन्दर्यता बिग्रँदै गएको छ । विश्व सम्पदा सूचीमा कालिन्चोक मन्दिरलाई पनि समेट्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।