• २२ वैशाख २०८२, सोमबार

पूर्ण क्षमतामै विद्युत् उत्पादन

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक २१ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । यस वर्ष ढिलो समयसम्म वर्षा भई नदीमा पानीको बहाव धेरै हुँदा पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख पशुपति गौतमले सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको जानकारी दिनुभयो । तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमतामा ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । असोजमा समेत पानी परेकाले नदी र यसका सहायक नदी, खोलामा पानी धेरै भएकाले पूर्ण क्षमतामै उत्पादन भएको केन्द्रले जनाएको छ । विद्युत् उत्पादनलाई नियमित गराउन मर्मतसम्भार गरिएको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित ६९ मेगावाट विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ ।

विद्युत् नियमित गराउन मर्मतसम्भार 

यसैबिच विद्युत् उत्पादन गर्ने तीन वटा युनिट मध्ये १ नं. युनिटको मर्मत पूरा भएको छ । केन्द्रका प्रमुख पशुपति गौतमका अनुसार राष्ट्रिय विद्युत् प्रसारणलाई अवरोध नहोस् भनेर विद्युत्को हाल माग कम हुने समय भएकाले मर्मतसम्भार गरिएको हो । कात्तिक ४ देखि सुरु भएको मर्मतको काम २० गते पूरा भएको गौतमले जानकारी दिनुभयो । गौतमले भन्नुभयो, “दसैँको समयमा धेरै उद्योग बन्द भई विद्युत् माग कम हुने भएकाले मर्मत गरेका हौँ ।”