• १३ साउन २०८१, आइतबार

बाँडियो आए जति राहत

blog

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा । तस्बिर : ललित बसेल

ललित बसेल/वासुदेव शर्मा

जाजरकोट (खलङ्गा), कात्तिक २१ गते । शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । 

त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले पुनः पराकम्पन गएकाले क्षतिको विवरण थप हुन सक्ने बताउनुभयो । ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् । 

राहत वितरणमा तीव्रता

पराकम्पन नआउँदै जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण र लगत सङ्कलनमा सरकारले तीव्रता बढाएको छ । राहत वितरणमा सरकारी संयन्त्र पूर्ण रूपमा सक्रिय भएर लागेको छ । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा आफैँ खटिएर प्रभावितलाई राहत वितरणमा अग्रसर हुनुभएको छ । रक्षामन्त्री खड्का भूकम्प आएको दिन गत शुक्रबारदेखि नै घाइतेको उद्धार तथा राहत व्यवस्थापनमा सक्रिय हुनुहुन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफैँ खटिएर उद्धार र राहतको काम गर्नुभएको थियो । उपप्रधानमन्त्री खड्कासहितको टोलीले सोमबार भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा, बढी प्रभावित मानिएको भेरी नगरपालिका–१ को रावत गाउँ, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका पनि पुगेर राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै प्रभावितलाई राहतमा कुनै कमी हुन नदिने आश्वासन दिइएको छ । बारेकोटका बासिन्दालाई उहाँले उद्धार सकिएकाले अब सरकारले आफ्नो पूर्ण शक्ति राहत वितरण र पुनर्निर्माणमा लगाउने बताउनुभयो । सरकारले राहत वितरणको कार्य सुरु गरिसकेको जानकारी दिँदै उहाँले राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस दुःखद अवस्थामा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नु पर्छ ।”

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा भएको तथ्याङ्क आफूले पाएको भन्दै प्राथमिकतासाथ राहत वितरण हुने बताउनुभयो । उहाँले केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको हुँदा वडाध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सरकारले राहत सामग्रीलाई गाडी जाने स्थानमा गाडीबाट र गाडी नजाने ठाउँमा हेलिकोप्टरबाट पठाएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको बारेकोटमा दुई हजार पाँच सय परिवारलाई पुग्ने गरी राहत पठाइएको छ । 

आए जति सबै वितरण

यसैबिच जाजरकोटमा आए जति सबै राहत भूकम्प प्रभावितलाई वितरण गरिसकिएको छ । सरकार तथा विभिन्न सहयोगी निकायले दिएका त्रिपाल, म्याट, कम्बललगायतका सामग्री सबै वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले जिल्लामा आएका राहत सबै सोमबारसम्म वितरण गरिसकिएको जानकारी दिनुभयो । 

उहाँले छ हजार थान ब्ल्याङ्केट, सात हजार थान त्रिपाल, दुई हजार पाँच सय बोरा चामल, छ सय थान म्याट, चार मेट्रिक टन पोषिलो बिस्कुट सबै वितरण गरिसकिएको बताउनुभयो । एकद्वार प्रणालीबाट राहत सङ्कलन भएकाले प्रभावित पालिकामा पनि प्राथमिकताका आधारमा पठाइएको उहाँको भनाइ छ ।

क्षतिको लगत सङ्कलन सुरु

यसै गरी भूकम्पले क्षतिग्रस्त बनाएका जाजरकोटको भौतिक संरचनाको क्षतिको लगत सङ्कलन सुरु गर्न लागिएको छ । सूचना अधिकारी शर्माले शुक्रबारको भूकम्पले जिल्लामा पूर्ण तथा आंशिक गरी करिब तीन हजार पाँच सय घरमा क्षति गरेको प्रारम्भिक अनुमान गरिएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ । 

भूकम्पबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा घाइतेको उद्धार गर्न लागिएको र त्यसपछि राहत वितरणमा लागिएको हुँदा क्षतिको प्रारम्भिक सङ्कलन मात्रै गरिएकाले यकिन गर्न अझै समय लाग्ने जानकारी सूचना अधिकारी शर्माले दिनुभयो ।