• १३ असोज २०८१, आइतबार

भट्टराईको ‘जिज्ञासा’ लोकार्पण

blog

काठमाडौँ, कात्तिक २० गते । प्राडा होमनाथ भट्टराईको ‘जिज्ञासा’ पुस्तक लोकार्पण भएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका भट्टराईले लेख्नुभएको सो पुस्तकको शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री ढुण्डीराज शास्त्री, पूर्वराजदूत केदारभक्त माथेमा, प्राडा सुरेशराज शर्मालगायतले लोकार्पण गर्नुभएको हो । 

लेखक प्राडा भट्टराईले शिक्षण पेसाबाट अवकाश प्राप्त समयको सदुपयोग गरी धार्मिक, वैज्ञानिक र दार्शनिक पुस्तकहरूको अध्ययन गर्ने क्रममा आफूले बनाएको ‘नोट’ हरूको सम्पादन र सङ्कलनबाट पुस्तक तयार भएको प्रस्ट पार्नुभयो । प्राडा जीवराज पोखरेलले लेखक प्राडा भट्टराई गणित, संस्कृति, अङ्गे्रजीका समेत ज्ञाता भएकाले पूर्वीय र पश्चिमा दर्शनशास्त्र, धार्मिक, पौराणिक पुस्तकको अध्ययन गरी जीवन र जगत्को सम्बन्धमा विश्लेषणात्मक पुस्तक ‘जिज्ञासा’ प्रकाशन गर्न सफल हुनुभएको बताउनुभयो । उहाँले ‘जिज्ञासा’ पुस्तकमाथि टिप्पणी गर्दै वेदहरू, उपनिषद् दर्शनका प्रसिद्ध पुस्तकहरूको अध्ययन गरी सरल भाषामा प्रकाशित पुस्तक ‘जिज्ञासा’मा समेटिएको सामग्री सबै वर्गका पाठकले बुझ्ने शैलीको रहेको बताउनुभयो । 

पूर्वराजदूत केदारभक्त माथेमाले यस पुस्तकमा तिब्बती दर्शन छुटेको टिप्पणी गर्दै अन्य सबै उत्कृष्ट लेखसहितको पुस्तक निकै ज्ञानवर्धक रहेको बताउनुभयो । प्राडा सुरेशराज शर्माले दर्शनसम्बन्धी ज्ञान दिने पुस्तक ‘जिज्ञासा’ पाठ्यक्रममा समावेश गर्नलायक बनेको बताउनुभयो । उहाँले  विशेष गरी दर्शन विधालाई रोचक बनाएर सरल तरिकाले प्रस्तुत गरिएकाले यस पुस्तकको स्तरीयता बढेको बताउनुभयो । 

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीले नेपाली भाषामा आएको ‘जिज्ञासा’ पुस्तक अङ्ग्रेजी र हिन्दी भाषामा पनि अनुवाद गर्न आग्रह गर्नुभयो । ‘जिज्ञासा’ पुस्तकमा भारतीय दर्शन, पाश्चात्य दर्शन, चिनियाँ दर्शन, विभिन्न धर्म दर्शन, परमाणुवाद, बौद्ध तथा उपनिषदीय, पराभौतिकी, नीतिशास्त्र, ईश्वरको अस्तित्वलगायतका विषयमा विश्लेषणात्मक लेख समेटिएका छन् ।