• ६ जेठ २०८१, आइतबार

भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण

blog

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राहत सामग्री हस्तान्तरण गर्नु हुँदै । तस्बिर : भारतीय राजदूताबास

गोरखापत्र अनलाइन

नेपालगन्ज, कात्तिक १९ गते । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । 

आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । 


एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी ग¥यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसका लागि चिकित्सा उपकरणहरू समावेश छन् । 

राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदुत श्रीवास्तवले बताउनु भयो । 

भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताउनु भयो । भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो । 

आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।

सामग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा आइपुगेको भारतीय वायुसेनाको विमान ।



यस समाचारको शीर्षकमा रहेको सङ्ख्या र तस्बिर परिवर्तन गरिएको छ । –सम्पादक