गोविन्द शर्मा
बाँके, कात्तिक १९ गते । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
आइतबार भएको खेलमा निर्धारित समय अवधिभर गोलरहित भएपछि पेनाल्टी सुटआउटका आधारमा विदेशी टोली स्तब्ध भयो । पेनाल्टीमा दुधौलीले ६ का विरुद्ध ७ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित १३ बिघा मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते हुनेछ । आइतबारको खेलमा म्यान अफ द म्याच दुधौली स्पोर्ट्स क्लबका जर्सी नं. २२ का लोकेश चौधरी हुनुभयो । सोमबार त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्टस क्लबबिच सेमिफाइनल खेल हुनेछ ।