• २ माघ २०८१, बुधबार

भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय सक्रिय

blog

भउचप्रसाद यादव/लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक १९ गते । भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय खोज र उद्धारमा सक्रिय बनेको छ । नेपाली सेनाले मेडिकल टिमसहित तीन वटा बटालियन फौज परिचालन गरेको छ ।

नेपाली सेनाले घाइते र बिरामीको उद्धार तथा राहत सामग्री ढुवानीका लागि पाँच वटा हवाई साधन परिचालन गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेकाको खोज तथा उद्धारका लागि काठमाडौँ, सुर्खेत र नेपालगन्जमा नेपाली सेनाको खोज तथा उद्धार टोली र मिश्रित विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको बताउनुभयो । 

शनिबार बेलुकासम्म भूकम्प प्रभावित क्षेत्रबाट ३१ जना घाइतेलाई सेनाको हेलिकोप्टरबाट सुर्खेत र नेपालगन्ज पु¥याइएको छ । काठमाडौँ, सुर्खेत र नेपालगन्जमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको छ ।

भूकम्पमा परेकाको खोज तथा उद्धारका लागि एक हजार ३५० जना नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । नेपाल प्रहरीले खोज तथा उद्धार टोली मेडिकल टिमसहित ८५० प्रहरी खटाएको छ । प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सुर्खेत र चौरजहारीबाट थप प्रहरी खटिएको जानकारी दिनुभयो । 

पाँच सयको सङ्ख्यामा सशस्त्र प्रहरी बल खटिएको छ । खोज उद्धार टोलीसँगै स्वास्थ्य टोली पनि जाजरकोट र रुकुमपश्चिममा खटिएको सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । सशस्त्रले सुर्खेत र काठमाडौँबाट डाक्टरसहितको स्वास्थ्य टोली खटाएको छ । 

सशस्त्रले तीन वटा (एमसिभी) एम्बुलेन्स पठाएको छ । हेलिकोप्टरबाट सुर्खेत र नेपालगन्ज ल्याइएका बिरामीलाई अस्पताल पु¥याउन एयरपोर्टमा ती एम्बुलेन्स तैनाथ गरिएको छ । सशस्त्र प्रहरीले सुर्खेत र दाङबाट तीनवटा कन्टेनर पठाएको छ । कन्टेनरमा करिब दुई सय जनालाई पुग्ने कपडा, खाद्यान्न र अत्यावश्यक सामग्री छन् ।  नेपाल प्रहरीले भूकम्पपीडितका नाममा आर्थिक सहयोग गर्दा आधिकारिकता पहिचान गरी सहयोग गर्न आग्रह गरेको छ ।