शेरबहादुर राई
ओखलढुङ्गा, कात्तिक १८ गते । ब्याकुल माइला गोल्डकप नवौं संस्करणको उपाधी दूधकौशिका आधारभूत विद्यालय मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारले जितेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आथ्यितामा फाइनल खेल सञ्चालन गरिएको थियो । सभापति खतिवडाले प्रतियोगितामा विजेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगिता सञ्चालन गर्नका लागि मानेभञ्ज्याङ गाउँपालिकाले सात लाख बजेट विनियोजन गरेको थियो ।
शनिबार भएको फाइनल खेलमा हलेशी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा खोटाङलाई ७–२ गोल अन्तरले पराजीत गर्ने दुधकौशीकाले उपाधी जितेको हो । जीत सँगै दुधकौशीका आधारभूत विद्यालयले नगद दुई लाख दुई हजार २२२ को साथमा ट्रफि, मडेल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता हलेशी तुवाचुङ नगरपालिका–१ ले एक लाख एक हजार १११ नगद सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।
यस्तै, खेलमा सेमिफाइनलिस्ट रिभोरुङ युवा क्लब माथिल्लो रिचुवा र मितेरी युवा क्लब ‘बी’ मानेभञ्ज्याङ गाउँपालिका–६ ले २०÷२० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको ब्याकुल माइला गोल्डकप नवौं संस्करण मूल आयोजक समितिका सचिव नवीनकुमार राईले जानकारी दिनुभयो ।
‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालदेखि राष्ट्रगानका रचनाकार ब्याकुल माइला (प्रदिप कुमार राई)को जन्मथलोमा प्रतियोगिता सञ्चालन हुदै आएको छ । कात्तिक ११ गते बाट सञ्चालन भएको प्रतियोगिताको नवौं संस्करणमा २३ टिमको सहभागिता रहेको राईले बताउनुभयो ।