• १३ साउन २०८१, आइतबार

भूकम्पबाट घाइतेको उद्धार र उपचार युद्धस्तरमा : प्रधानमन्त्री

blog

जिल्ला अस्पताल सल्लेमा रहेका घाइतेहरुको अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक १८ गते । रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार र उपचार भूकम्पबाट घाइतेको उद्धार र उपचार युद्धस्तरमा  हुने बताउनु भएकाे छ । 

शनिबार बिहान जाजरकोटको सदरमुकाम खलङ्गामा पुगेर रुकुम पश्चिम आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको हो । चौरजहारी अस्पताल, सानीभेरी गाउँपालिका अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा पुगेर उहाँले घाइतेको अवस्थाबारे जानकारी लिनुभएको हो । 

घाइतेहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले केही गुनासा र मागहरु भएमा आफूसमक्ष राख्न अनुरोध गर्नुभयो । त्यसक्रममा उहाँले मनोवल उच्च बनाउन आग्रह  गर्नुहुँदै सरकारले उपचारमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।  

प्रधानमन्त्रीले घाइतेको उद्धार तथा राहतको व्यवस्थाबारेमा जिल्लास्थित सुरक्षा निकाय, स्थानीय सरकारसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डसमक्ष रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तत्काल उद्धार र राहतका काममा सहयोग जुटाउन अनुरोध गर्नुभयो ।