• १३ साउन २०८१, आइतबार

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ,  कात्तिक १८ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठुलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने प्रबन्ध गर्न पनि अनुरोध गर्नुभएको छ ।

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यस कठिन घडीमा उहाँले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनः निर्माणमा जुट्न निर्देशन दिनुभएको छ । 

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो क्षति पुगेको छ ।

भूकम्पबाट हालसम्म १२८ जनाको निधन भएको जानकारी प्राप्त भएको छ ।