सुजल श्रेष्ठ
प्युठान, कात्तिक १५ गते । पछिल्लो समय जिल्लाको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा समेत माछापालन व्यवसाय विस्तार भएको छ । गौमुखी गाउँपालिका–१ अर्खाका कुशलसिंह थापाले रेन्बो ट्राउट जातको माछापालन सुरु गर्नुभएको हो । उहाँले करिब ३० लाख रुपियाँको लगानीमा गौमुखी रेन्बो ट्राउट मच्छेपालन केन्द्र स्थापना गर्नुभएको हो ।
पोखराको क्षेत्रदिप अन्नपूर्ण ट्राउट फार्मबाट २५ हजार माछाको भुरा ल्याएर सुरुवात गरेको थापाले बताउनुभयो । ०७४ सालमा पोखरा घुम्न गएको बेला त्यहाँको फार्म देखेपछि ट्राउट जातको माछा पाल्ने योजना बनेको थापाले सुनाउनुभयो । “त्यसपछि पोखरा र रसुवा पुगेर थप अनुसन्धान पनि गरे,” उहाँले भन्नुभयो ।
प्युठान नगरपालिका–१ खैराका भोजबहादुर बस्नेतले झिम्रक मत्यसपालन कृषि फार्म सञ्चालन गर्नुभएको छ । ५० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर हाल १२ वटा पोखरीमा माछापालन गरिरहेको बस्नेतले बताउनुभयो । ग्रास कार्प, सिल्भर कार्प, कमन कार्प, नइनी, रहूँ र विग हेड जातका माछा पाल्ने गरेको उहाँको भनाइ छ । २०७० सालमा स्थापना भएको फर्ममा अहिले एक करोड रुपियाँ लगानी पुगेको बस्नेतले जानकारी दिनुभयो ।
यस फार्मले जिल्ला भित्रै रहेका अन्य माछापालन किसानलाई माछाका भुरा बिक्री वितरण गर्ने काम समेत गर्दै आएको छ । जिल्लामा करिब दुई दर्जन किसान माछापालन क्षेत्रमा लागेका छन् । जिल्लामा माछाको खपत राम्रो भएकाले समेत बस्नेत उत्साहित भएर फार्म सञ्चालनमा लाग्नुभएको हो । “जिल्लामा उत्पादन भएका माछा विक्री वितरणको समस्या छैन,” उहाँले भन्नुभयो, “चिसो हावापानीमा उत्पादन भएकाले पनि खपत हुन्छ ।” उहाँका अनुसार वार्षिक ७०/८० क्विन्टल माछा बिक्री हुँदै आएको छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका अनुसार हालसम्म ५.५ हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ । जसबाट वार्षिक १२ मेट्रिकटन माछा उत्पादन हुने गरेको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “जिल्लमा रेन्वो ट्राउट पालन समेत सुरु भएको छ,” उहाँले भन्नुभयो, “गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा सुरुवात भएको छ ।”