• २३ पुस २०८१, मङ्गलबार

दलितभित्रै चर्को जातीय विभेद

blog

दलित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कार्यक्रममा सहभागी दलित अगुवा ।

शेरबहादुर सार्की

बाजुरा, कात्तिक १५ गते । गैरदलितले दलितमाथि गर्ने जातीय विभेद त पहिलादेखि अहिलेसम्म उस्तै छ । त्योभन्दा पनि अहिले बाजुरामा दलितमै जातीय विभेद चर्को रूपमा बढ्दै गएको छ । 

बाजुरामा दलित दलितमाथि नै जातीय विभेद चर्को रूपमा बढ्दै गएको हो । सार्की, विक, लुहार, सुनारलगायतका थरका दलितले नेपाली, गन्धर्व, वादी थरका दलितलाई विभेद गर्दै आएपछि अहिले बाजुरामा दलित दलितमाथि दलितकै विभेद चर्किंदै गएको हो । जातीय विभेदमा परेको गुनासो गर्दै जिल्लामा विभेदविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका दलित दलितबिच नै विभेद हुँदा छुवाछुत उन्मूलनमा समस्या भएको छ ।

सार्की, लुहार, विक र सुनारका पुरानादेखि नयाँ पुस्ताले समेत नेपाली, गन्धर्व, वादीका हातको पानीसमेत नखाने गरेको बुढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह र अन्य चाडपर्वमा नेपालीलाई बाजा बजाउन बोलाउने तर सार्वजनिक मठमन्दिर तथा निजी घरभित्र अझै उनीहरूले नेपाली परिवारलाई विभेद गर्दै आएका छन् ।”

कथित उपल्लो दलित जातिका अधिकांश धामीझाँक्री नेपाली र वादीको घर जान्छन् तर आफ्नो घरमा जाँदा शरीरमा पानी छिटा हालेर छोइछिटो गरेर मात्र प्रवेश गर्छन् । जातीय विभेद तथा छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । सहरको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत अझै व्यापक छ । 

कतिपय स्थानमा दलित समुदायमाथि विभेद गर्ने, मठमन्दिरमा प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । बाजुराका नौ वटै स्थानीय निकायमा सार्की, विक, लुहार, नेपाली, चँदारा, गन्धर्व, सनाई ओड, कुमाल, सुनार, कामी, कडारा, तिरुवा र परीलगायतका दलित बसोबास गर्दै आएका छन् । यी सबै जाति दलितमा सूचीकृत छन् र राज्यले यी सबै दलित समुदायका लागि कोटा आरक्षण गरेको छ ।

गैरदलितले दलितमाथि गर्दै आएको जातीय विभेद अन्त्य गर्न लाग्नुको साटो उल्टै दलितले दलितमाथि यस्तो विभेद गर्नु कानुनी रूपमा गलत भएको त्रिवेणी नगरपालिका–८ का दलित अगुवा हरि नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हामी सबैलाई दलित भनेर सूचीकृृत गरेको छ तर हामीमा पनि एक जातले अर्को जातलाई विभेद गर्नु भनेको छुवाछुत प्रथालाई अपनाउँदै जानु हो ।” यहाँका उपल्लो जातिको मठमन्दिर तथा घरमा दलितले प्रवेश गर्न पाउँदैनन् । त्यसै गरी दलितमा पनि नेपाली, दमाई, वादीले सार्की, विक र सुनारको मठमिन्दर तथा घरमा प्रवेश गर्न पाउँदैनन् ।

नेपालको संविधानले पनि छुवाछुत तथा भेदभावविरुद्धको हक व्यवस्था गरेको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थलमा कुनै प्रकारको भेवभाव वा छुवाछुत गर्न नपाइने उल्लेख गरिएको छ । तर पनि बाजुराका विभिन्न गाउँबस्तीमा निजी तथा सार्वजनिक स्थलमा समेत जातीय विभेद तीव्र रूपमा हुने गरेको पाइन्छ ।

दलितमाथि भएको जुनसुकै विभेद अन्त्य गर्न त्रिवेणी नगरपालिकाले यस वर्ष झन्डै पाँच लाख रुपियाँ विनियोजन गरेको त्रिवेणी नगरपालिका लेखा समिति संयोजक गगनजङ्ग बुढाले बताउनुभयो । जिल्लामा व्यापक रूपमा रहँदै गएको जातीय विभेद अन्त्य गर्नुभन्दा पहिला दलितले दलितलाई गर्दै आएको विभेद अन्त्य गर्न लागिपरेको त्रिवेणी नगरपालिका नगरस्तरीय दलित नेटर्वक अध्यक्ष वीरबहादुर विकले बताउनुभयो ।