• २० असोज २०८१, आइतबार

लुम्बिनीबाट गुटेरेसले गर्नुभयो विश्व शान्तिको कामना

blog

लुम्बिनीबाट विश्व शान्तिको कामना गर्दै महासचिव गुटेरेस, साथमा प्रधानमन्त्री प्रचण्ड । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले लुम्बिनी आएर संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि विश्व शान्तिको कामना गर्नुभएको छ ।  बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि बोल्दै गुटेरसले सो कामना गर्नुभएको हो । 

गुटरेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न आव्हान समेत गर्नुभयो । बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गर्दै उहाँले  बुद्धको पञ्चशीलको दर्शन र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो भएको उल्लेख गर्नुभयो ।

‘शान्ति र मानवता अपरिहार्य विषय हो, मानवीयता मर्न दिनु हुन्न’ उहाँले भन्नुभयो, ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ ।’

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उहाँले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गर्नुभयो । इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उहाँले लुम्बिनीबाटै आव्हान गर्नुभयो ।

गुटेरेसले जलवायु परिवर्तनको असर रोक्न सामूहिक पहलको आवश्यकता औँल्याउनुभयो । मङ्गलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुग्नुभएका गुटेरेसले शान्ति दीपमा दीप प्रज्वलन, मायादेवी मन्दिरमा पुगेर दर्शन र वृक्षारोपण गर्नुभयो । शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उहाँ पैदल हिँड्नुभएको थियो । 


महासचिव गुटेरेस लुम्बिनी विकास कोषको स्वागत समारोहमा सहभागी हुनुभयो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेको विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु समुदायलगायत विभिन्न जातीय समूहले शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए ।  

यसैगरी महासचिव गुटेरेसले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आउनुभएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामालगायतले स्वागत गर्नुभयो ।