• २० असोज २०८१, आइतबार

पर्यटकीय क्षेत्रको विकास गर्न महोत्सव आयोजना

blog

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १४ गते । बिरुवा गाउँपालिका –७ गहतेमा रहेको मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिएको छ । 

बिरुवा गाउँपालिकाको शक्तिपिठको रुपमा परिचित मनकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास र पुनः निर्माणको सहयोगार्थ मन्दिर परिसरमा महोत्सव आयोजना गरिएको हो । 

स्थानीय खड्कबहादुर गुरुङ्लाई १९८५ मा देवीको शक्ति आएपछि काम्दै साविकको मनकामना गाविस पूरै हिँड्नुभएको थियो । पाँच दिनको हिडाइँपछि गुरुङले हाल मन्दिर रहेको स्थानमा सात दिन सात रात तपस्या गर्नुभएको थियो ।  

तपस्या गर्दागर्दै गुरुङ काम्न छाडेपछि यहाँ मनकामना देवीको उत्पत्ति भएको भन्दै हरेक बिजयादशमी र चैते दसैंको पूर्णिमामा पूजाआजा गर्ने प्रचलन रहँदैआएको छ । 

महोत्सव २०८० आयोजक समितिका संयोजक मेखबहादुर गुरुङ्ले पहिला स्थानीय गुरुङ समुदाय र अन्य समुदायले पूजागर्दै आए पनि पछिल्लो समय भने देशभरबाट पूजा गर्न आउने प्रचलन बढेको बताउनुभयो । 

मन्दिरको अवस्था जीर्ण भएपछि पुनर्निर्माणका लागि सहयोगार्थ र मन्दिरको प्रचार प्रसारका लागि सांस्कृतिक कार्यक्रमसहितको महोत्सव आयोजना गरिएको गुरुङ्ले बताउनुभयो । जुनसुकै अप्ठ्यारो र दुःखमा मनकामनालाई भाकल गर्ने हो भने पूरा हुने विश्वास रहँदैआएको गुरुङ्ले बताउनुभयो । 

सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै १८ किलोमिटर कच्ची सडकमार्फत पुग्न सकिने यो मन्दिर जिल्लाकै उच्च भागमध्ये पर्ने गहतेमा छ । धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न सकियो भने यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने बताउँदै गुरुङ जनजातिकाे बाहुल्य रहेको यस ठाउँको मन्दिरलाई कलात्मक बनाउँदै धार्मिक पर्यटनको गन्तव्य बनाउने अभियानमा जुटेको बताउनुभयो । 

यहाँ आउने पर्यटकलाई होमस्टेमा बस्ने व्यवस्था मिलाइएको छ भने ग्रामीण क्षेत्रको विकासका लागि यो मन्दिर एउटा महत्वपूर्ण अङ्ग हुने अपेक्षा गरिएको छ । 

पाँच दिने महोत्सवमा राष्ट्रिय कलाकार प्रजापति पराजुली, शर्मिला गुरुङ्, राजु गुरुङ्, शङ्कर विरही गुरुङ्, श्याम राना, घनश्याम रिजाललगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन प्रदान गर्नुभएको थियो ।