• २० असोज २०८१, आइतबार

गुरुङ संस्कृति बुझ्न र सोरठी नृत्य हेर्न घलेगाउँ

blog

फाइल तस्बिर

लमजुङ, कात्तिक १३ गते । प्राकृतिक छटाले भरिपूर्ण यहाँको क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँ घरबास (होमस्टे)मा पर्यटक चहलपहल हुन भएको छ । दसैँअघि सुनसान जस्तै रहेको यहाँका घराबासमा दसैँलगत्तै चहलपहल सुरु भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो ।

सचिव घलेका अनुसार घरबासमा दसैँ सुरु भएयता दैनिक ४० देखि ५० जना पर्यटक आउन थालेका छन् । “दुई दिन अघिसम्म दैनिक दुई सय जनासम्म पर्यटक आइरहेका थिए । विगतमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म आउने गरेकामा पर्यटक आगामी दिनमा पनि सोही हाराहारीमा आउने अपेक्षा छ”, उहाँले भन्नुभयो । 

यहाँ पर्यटकीय याममा प्रतिघरवासले ५० हजारभन्दा बढी आम्दानी गर्छन् । पर्यटक नआउदा फुर्सदिला बनेका यहाँका घरबास सञ्चालक पर्यटक आगमन बढेसँगै उनीहरुको सत्कारमा व्यस्त हुन थालेको घरबास सञ्चालक हेमकुमारी गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले त प्रत्येक घरबास सञ्चालकले दैनिक जसो आम्दानी गर्न थालिसकेका छन् ।” २०५७ बाट सञ्चालनमा आएको यहाँको घरबासमा अहिले ४४ घरमा घरबास सञ्चालन छ । 

जसमा एकै पटक तीन सय जनासम्म बस्न सक्ने क्षमता छ । साथै दुई वटा होटलसमेत सञ्चालनमा छन् । घरबासमा पुगेका पर्यटकका लागि सत्कारसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइ राख्न जुटेका उनीहरुको जातीय पहिचानसहितको सांस्कृतिक नृत्यसमेत देखाउने गरिएको छ । वि.सं.२०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रुपमा घोषणा गरेको थियो । 

घले गाउँ नेपाल आदिवासी जनजातिमध्ये गुरुङहरुको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन ठाउँ हो । गाउँमा करिब एक सय ३५ घरधुरी छन् । यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण हिमाल दोस्रो, अन्नपूर्ण हिमाल चौँथो, माछापुच्छे«, हिमालचुली, लमजुङ र बुद्व हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ घले राजामध्ये अन्तिम घले राजा ज्याल्बु रुजा क्लेको शालिक पनि राखिएको छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले स्थानीय तहमै उत्पादित अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायतका परिकार खुवाउने गर्दछन् । 

पर्यटकलाई सत्कारसँग आफ्ना कला संस्कृति जोगाई राख्न जुटेका गुरुङसेनीहरुको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गर्ने गरिएको छ । गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ । पर्यटकलाई गुन्द्रुक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायतका परिकार खुवाइन्छ । घलेगाउँमा प्रतिव्यक्ति एक रातको एक हजार दुई सय ५० शुल्क लिइन्छ ।

सो रकम तिरेबापत एक रात सुत्न तथा एक-एक छाक भोजन र बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् । घले गाउँ काठमाडौँबाट तनहुँको डुम्रेबजार हुँदै बेँसीसहरसम्मको एक सय ७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहरसम्म एक सय १० किमीको दूरीमा छ । त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ । रासस