• ९ मंसिर २०८१, आइतबार

आशा जगाउने अवसर

blog

सबैभन्दा ठुलो पर्व बडादसैँ सकिएको छ । तिहारको तर्खर अब बिस्तारै हुन्छ, हुँदै छ । नेपाल संवत्, छठसमेत पर्वकै रूपमा मनाइन्छ । यी चाडपर्वको सांस्कृतिक महत्व त छँदै छ, देशको अर्थतन्त्र चलायमान बनाउन चाडपर्वको ठुलो योगदान रहने गर्छ । विगतमा ठुलो योगदान रहने गरेको थियो । तर आमबुझाइमा यो वर्ष बडादसैँले पनि अर्थतन्त्र व्यापक चलायमान बनाउन सकेन । देश आर्थिक मन्दीको चपेटामा परेको बडादसैँको आर्थिक निराशाले पनि देखाएको छ । दसैँलगायतको चाडपर्वले यो मन्दीमा केही मलहम लगाउने अपेक्षा गरिएको थियो तर खासै सकारात्मक प्रभाव पार्न सकेन । खासगरी आर्थिक पक्ष चलायमान हुन सकेन । अबका नीति, कार्यक्रम र योजना देशको अर्थतन्त्रमा आशा लगाउने गरी अगाडि बढ्न सकेन भने मुलुकले कहालीलाग्दो आर्थिक मन्दीको अझ जोखिमतिर जाने छ ।

यो बडादसैँमा आर्थिक चलायमान सोचेजसरी अगाडि नबढ्नुमा मूल कुरा महँगी नै हो । महँगी अचाक्ली नै बढ्यो, बढाइयो । उपभोक्ताको क्रय शक्तिमा ठुलो ह्रास आयो । विगतमा यस्तो कहिल्यै ह्रास आएको थिएन । गत आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर असाध्यै न्यून रह्यो । न्यून आर्थिक वृद्धिले आममानिसको आयमा प्रतिकूल असर पारेको छ । रोजगारी छिनिएको छ । प्रतिष्ठित मिडिया हाउसले समेत पत्रकार तथा कर्मचारीलाई तलब दिएनन् । कामबाट निकाल्ने यत्न गरे । निजी क्षेत्रमा अनेक समस्या छन् तर कामदार तथा कर्मचारीको परिश्रमको मोल दिन नेपालमा असाध्यै कन्जुस्याइँ गरिन्छ । सहकारीले सर्वसाधारणको रकम डुबाएका छन् । कतिपय फरार भएका छन् । पुँजी बजारमा लगाएको लगानी झन्झन् खिइँदै गएको छ । देशभित्र अवसर नभएकै कारण विगत दुई वर्षमा झन्डै १५ लाख नेपाली युवा बाहिर गएका छन् । यो औपचारिक लेखोट हो । अनौपचारिक अनि भारत जानेको सङ्ख्या हेर्ने हो भने झन्डै ३० लाख नेपाली यो दुई वर्षमै देशबाहिर गएका छन् । मानिस उपभोक्ता पनि हो, अनि कसरी प्रभावकारी माग सिर्जना हुन्छ ? बडादसैँमा अर्थतन्त्र कसरी चलायमान हुन्छ ? 

महँगी अचाक्ली बढ्नुमा सरकारी संयन्त्रका समेत कमीकमजोरी छन् । चिनीको किलोकै १५० मा पाउन सकिएन । समयमा चिनी ल्याउन नसक्नु कसको कमजोरी ? नेपाल राष्ट्र बैङ्कका अनुसार साउनमा भन्दा भदौमा मुद्रा स्फीति बढेको छ । आठ प्रतिशतभन्दा बढी महँगी भएको छ । असोज महिनाको बजार मूल्यले त अझै महँगी उच्च भएको छ । चिनी, जिरालगायतका मसला, खाद्यपदार्थ आदिको महँगीले मुद्रा स्फीति अब दोहोरो अङ्कतिर जाने जोखिम बढेको छ ।

सरकारले आपूर्ति प्रणालीमा सुधार ल्याउन गर्नुपर्ने काम गर्न सकेको छैन । थानकोटबाट ओरालो लागेपछि राजमार्र्गको हालत आदिम युगको जस्तो छ । एक घण्टामा सवारीसाधनले १० किलोमिटर पनि गुड्न सक्ने अवस्था छैन । राजधानीको आपूर्ति व्यवस्थामा यो सडकको कति महत्व छ भन्ने सम्बद्ध सरकारी निकायले बुझ्न नसकेका हुन् कि ? नारायणगढदेखि बुटबल जाने सडक वर्षौंदेखि यस्तै भद्रगोल छ । पोखरा जाने सडकको हालत उस्तै छ । नेताहरू आआफ्नो क्षेत्र केन्द्रित भएको आरोप लाग्ने गरेकै छ । चितवनका सबैजसो सडक अब्बल छन् । गाउँ गाउँ र घर घरसम्म कालोपत्रे छ । त्यस्तो सडक हुनु राम्रो कुरा हो र देशभरि हुनु पर्छ । तर सडक अब्बल भए पनि बिस्तारै बस्ती भने उजाड हुँदै गएका छन् । सुन्दर गाउँ बस्तीमा चहलपहल न्यून हुँदै छ । मानिसमा विदेशमोह बढ्दो छ । देशभित्रै केही गर्न सकिने आशा जगाउन सकिएको छैन ।

कोभिडलगत्तै केही आर्थिक गतिविधि चलायमान हुँदै गएको थियो । बाह्य प्रभावको कुचक्रमा अर्थतन्त्र प¥यो । खासगरी रुसले युक्रेनमाथि गरेको अतिक्रमणले युद्ध निन्त्यायो । इन्धनको भाउ बढ्यो । संसारभर आपूर्ति शृङ्लखामा प्रतिकूल प्रभाव प¥यो । कोभिडको समयमा अति सहुलियत दिएर कर्जा प्रभाव भएको थियो तर ती कर्जा लक्षित क्षेत्रभन्दा पनि घर जग्गा, सेयरमा थुप्रियो । ती क्षेत्रमा कृत्रिम बबल देखापर्दा धेरै जना मख्ख थिए, बबल बिस्तारै सुक्दै गयो । तीन हजारभन्दा माथि पुगेको नेप्से परिसूचक दुई हजारभन्दा तल आयो । पुँजी खिएर गयो । बैङ्कको ब्याज बढ्यो । घर जग्गामा पनि बढी लगानी भइसकेको थियो । देशभर मानिसका सङ्ख्याभन्दा घडेरीको सङ्ख्या बढी भयो । सहरी क्षेत्रमा विपन्नलाई बास भएन तर मध्यम वर्गले घरमा धेरै खर्च ग¥यो । अहिले नयाँ पुस्ता क्रमशः बाहिरिँदा घर खाली हुँदै गएका छन् । गाउँ त रित्तो हुँदै थियो, अब सहर पनि बिस्तारै रित्तो हुँदै जाने अवस्था आएको छ । अब सरकार र नेतृत्वले आशा जगाउन काम गर्नुको विकल्प छैन ।

आर्थिक मन्दीको अवस्था अर्थतन्त्रका अवयवमा आइरहन्छ । आर्थिक मन्दीको अवस्था वास्तवमा नाजुक अवस्था हो तर यो नयाँ थालनीको अवसर पनि हो । यस्तो अवस्थामा रोजगारी अति न्यून हुँदै जान्छ । लगानी कमजोर हुन्छ । नेपालमा भएको त्यही हो । तर अब सरकारले आशा जगाउन सक्नु पर्छ । मन्दीबाट पार पाउन सरकारले लगानीको क्षेत्र विस्तार गर्नु पर्छ । अर्थशास्त्री जोन मिडार्ड किन्सले भनेझैँ मन्दीको अवस्थामा सरकारले व्यापक पूर्वाधारमा लगानी गर्ने अवस्थासमेत हो । देशका ठुला राजमार्गलाई यति नाजुक हालतमा राख्नुहुन्न । तत्काल सडकको अवस्था सुधार्न लगानी बढाउनु पर्छ । सडकमा गरिएको लगानी अर्थतन्त्रलाई लागत घटाउन अति महत्वपूर्ण छ । आशा जगाउने आधार बन्छ ।

अब्बल सडक अर्थतन्त्रको मूल आधार हो । यसले लगानी बढाउन सहयोग गर्छ । लागत घटाउँछ । पर्यटन विस्तारमा सहयोग पुग्छ । चालु आर्थिक वर्षमा बाह्य पर्यटन बढ्न थालेको छ । सडकको अवस्था राम्रो नभएपछि आएका पर्यटक राजधानीमा मात्र केन्द्रित हुन्छन् । केही स्थानमा हवाई सेवामा पुग्छन् र फर्कन्छन् । नेपालमा खर्च गर्न सक्ने अवस्था हुँदैन । सडक पूर्वाधार व्यापक र सहज बनाउँदा राजमार्ग अर्थतन्त्रको चलायमान बढ्छ । होटल तथा रिसोर्टमा बाह्य पर्यटकको आवागमन बढ्छ । आन्तरिक पर्यटकसमेत बढ्छन् । अहिले देशका कतिपय सडकले अर्थतन्त्रमा आशा जगाउन मूल बाधक छन् । केही वर्ष अघिसम्म अब्बल रहेका सडकको अवस्था किन यति नाजुक भयो ? सडक विस्तार गर्ने नाममा आवागमनमै अवरुद्ध हुने गरी किन यसरी लापरबाही भइरहेको छ ? आमनागरिकलाई अनुभूति हुने गरी सरकार तत्कालै यसमा बोल्नु पर्छ । के कसरी काम हुँदै छ भन्ने श्वेतपत्रै जारी गरेर काम गर्नु पर्छ ।

आशा जगाउने अर्को क्षेत्र जलस्रोत हो । भारतले जलविद्युत् आयातलाई स्वच्छ ऊर्जाका रूपमा लिइएको छ । जैविक इन्धनको भार घटाउन भारतले समयसीमा तोकेरै योजना कार्यान्वयनमा ल्याएको छ । आयातीत बिजुलीलाई स्वच्छ ऊर्जाका रूपमा लिएको छ । १० हजार मेगावाटसम्म विद्युत् आयातमा भारत त्यसै पनि सकारात्मक छ र भारतलाई अझ बढी बिजुलीको खाँचो छ । नेपालको जलविद्युत्मा लगानी बढाउन आशा जगाउने यो महत्वपूर्ण अवसर हो । जलविद्युत् आयोजना भ्रष्टाचार र कुशासनका कारण लागत उच्च भएको छ । निजी क्षेत्रमा पनि लागत उच्च छ । प्रविधिको सहज पहुँच बढाउँदै जलविद्युत्मा लागत न्यून गरी लगानीको अवसर जुटाउने यो राम्रो अवसर होे । 

उत्पादित बिजुली निर्यातमा ध्यान नदिएर देशभित्रै कसरी उद्यमशीलता बढाउन सकिन्छ भन्नेतर्फ अन्वेषण र गृहकार्य आवश्यक छ । खास गरी साना तथा मझौला उद्यमीलाई विद्युत्मा पहुँच र राहत दिनु पर्छ । ठुला उद्यमीले अर्बौं रुपियाँ विद्युत् महसुल तिर्न बाँकी छ । यस्तो किन भयो ? अनि विद्युत् उत्पादन बढ्दै गए पनि सुरक्षित विद्युत् आपूर्तिमा अझै ठुलो समस्या छ । विद्युत् भार कटौतीको समस्या बेला न कुबेला आइरहन्छ । अर्थतन्त्रको लागत घटाउन अनि देशभित्रै केही गर्नु पर्छ भन्नका निम्ति सुनिश्चित विद्युतीय ऊर्जाका निम्ति अझै धेरै काम गर्नुपर्ने छ । यसमा सम्बद्ध निकाय मौन बस्नुहुँदैन । सरकारले यसको अनुभूति विद्युत् उपभोक्तालाई गराउनु पर्छ ।

कृषि र पर्यटन क्षेत्रमा अपार सम्भावना छ तर यो क्षेत्रमा आशा जगाउने गरी कामै हुन सकेको छैन । विश्वका बन्जर भूमिलाई सीप, प्रविधि र नवीन तौरतरिकाले कृषिका निम्ति अब्बल भूमि बनाएका छन् । कृषिका निम्ति अब्बल भूमि नेपाल भने बिस्तारै कृषिमा परनिर्भर हुँदै छ । कृषिप्रधान देशमा कृषिबाट पलायन डरलाग्दो तवरले अगाडि बढ्दै छ । हाम्रो जरो कृषिमै हो । युवापुस्तालाई कृषिप्रति आकर्षित गर्ने नीति, योजना र कार्यक्रम ल्याउनु आवश्क छ । गोलभेँडा महँगो मूल्यमा केही महिनाअघि भारत निर्यात हुन सक्यो । दुधमा देश आत्मनिर्भर हुँदै छ तर धुलो दुध आयात गरेर कमिसन खान पल्केका ब्वाँसाहरूका कारण देशभित्रको दुध बजार निस्तेज पार्ने शृङ्खलाबद्ध षड्यन्त्र चलिरहेको आरोप लाग्ने गरेको छ । सरकार यस्ता कुरामा नीतिगत रूपमै कठोर हुनु पर्छ । कृषि र पर्यटनलाई आपसमा जोडेर मूल्यवृद्धिसहित लाखौँ रोजगारी र स्वरोजगारी सिर्जना गर्ने प्रशस्त सम्भावना छ । यस्ता कार्य तत्कालै थाल्न गृहकार्य आवश्यक छ । यो निश्चिय नै हो, आर्थिक मन्दी भनेको अवसर सिर्जना गर्ने थालनीको सुअवसरसमेत हो ।  

Author

जुनारबाबु बस्नेत