वित्तीय कारोबार आफैँमा आर्थिक प्रकृतिको कारोबार हो जसमा बचत, लगानी, ब्याजदर तथा प्रतिफलका साथै वित्तीय सुरक्षालाई समेत जोडेर हेर्ने गरिन्छ तर संस्थाको स्थापना गरेपछि कारोबारको साथसाथै त्यसको सामाजिक जिम्मेवारी तथा उत्तरदायित्वको सवाल पनि जोडिने गर्दछ जुन सामाजिक उत्तरदायित्व हो । एकातिर नेपालमा सहकारी संस्थाले ठगी गर्ने र भाग्ने प्रवृत्ति बढेसँगै जनताले सहकारीमा बचत गर्ने क्रम घटेको छ भने बैङ्कहरूमा समेत यसको प्रभाव देखिन थालेको छ । अर्कोतिर विभिन्न कारणले बैङ्कहरू मर्जरमा जाने क्रमसमेत बढेको छ । बैङ्क तथा वित्तीय संस्था ऐन, २०७३ मा वित्तीय संस्था भन्ने शब्दले बैङ्क, वित्त कम्पनी, लघुवित्त संस्था वा विदेशी वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालयलाई जनाउने र उनीहरूको कारोबारलाई वित्तीय कारोबारका रूपमा परिभाषित गरेको छ ।
नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८०/०८१ को प्रथम दुई महिनाको आर्थिक तथा सामाजिक अवस्थालाई हेर्दा बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०८० भदौ मसान्तमा ११२ रहेको छ । यसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८० भदौ मसान्तमा ११ हजार ५६७ कायम भएको छ । त्यसै गरी निक्षेपतर्फ समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. सात अर्ब ५६ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. ४३ अर्ब ६६ करोड (०.९ प्रतिशत) ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.२ प्रतिशतले बढेको छ । २०८० भदौ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.२ प्रतिशत, २५.९ प्रतिशत र ६१.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.५ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो । २०८० भदौ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ । २०७९ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत रहेको थियो भन्ने तथ्याङ्क उल्लेख गरेको छ ।
कुनै पनि वित्तीय संस्थाले पु¥याउने संस्थागत सामाजिक उत्तरदायित्वको बहन उक्त संस्थाको सामाजिक छवि निर्माणमा सहयोगी हुने भएकाले सामाजिक क्षेत्रमा वित्तीय क्षेत्रले प्रभावकारी ढङ्गले खर्च गर्नु पर्छ तर वित्तीय संस्थाको वास्तविक सफलता विफलताको मापन सामाजिक उत्तरदायित्वबाट हुँदैन । वित्तीय संस्थाहरूले पहिला आफ्नो जगका रूपमा रहेको उत्पादनशील आर्थिक क्रियाकलाप अभिवृद्धिमा नै बढी ध्यान दिनु आवश्यक हुन्छ, किनकि यसैबाट वित्तीय संस्थाको जीवन्तता र दिगो विकास सम्भव हुन्छ । एकातिर देशमा बचतकर्तालाई न्यायोचित प्रतिफल दिएर पुँजी निर्माण गर्ने, उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, देशमा उद्यमशीलता विकासमा उपलब्धिमूलक कार्ययोजनासहित अगाडि बढ्ने जनतामाझ फजुल खर्च कटौती, आय अभिवृद्धि, बचतको महत्वबारे जनचेतनामूलक कार्यलाई अघि बढाउनुपर्ने हुन्छ भने अर्कातिर वित्तीय क्रियाकलापबाट आर्जित मुनाफामध्ये केही रकम समाजमा लाभबाट वञ्चित क्षेत्रलाई सहयोग गर्ने दिशामा नै वित्तीय क्षेत्रको सामाजिक उत्तरदायित्व परिलक्षित हुनु आवश्यक छ तर विडम्बनाका साथ भन्नुपर्ने हुन्छ कि नेपालका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व देशभर नभएर काठमाडौँलाई केन्द्र बनाउँदै आएका छन् ।
स्थापित सार्वजनिक या निजी व्यावसायिक संस्थाको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । मुनाफा तर्कसङ्गत, न्यायोचित हुनु पर्छ, संसाधनहरूको समुचित, मितव्ययी उपयोग गर्दा पर्न आउने उत्पादन लागतमा उचित प्रतिफल जोडेर आर्जन गरिने मुनाफा नै न्यायोचित मुनाफा हो । नेपालमा कम्पनीहरूलाई आफ्नो मुनाफाको कम्तीमा एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने प्रावधान राखिएको छ । राष्ट्र बैङ्कको अभिलेखमा रहेका २० वटा वाणिज्य बैङ्कमध्ये नबिल बैङ्कले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण, व्यवस्थापन, आर्थिक विकास, गरिबी निवारण, विज्ञान तथा प्रविधि, खेलकुद, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति तथा कलाको क्षेत्रमा योगदान पु¥याउँदै आएको देखिन्छ भने एनआईसी एसिया बैङ्कले भने स्वास्थ्य र स्वच्छता, पर्यावरण संरक्षण, शिक्षा, सामाजिक क्षेत्र र बैङ्क तथा वित्तीय साक्षरताको क्षेत्रमा योगदान दिएको देखिन्छ ।
सार्वजनिक उत्तरदायित्व बहनका हिसाबले नेपालका वित्तीय संस्थाहरू अन्य क्षेत्रभन्दा अगाडि रहे तापनि यो विवादमुक्त भने रहन सकेको छैन । कतिपय वित्तीय संस्थाले सामान्य रक्तदान कार्य, आफ्नै संस्था परिसरको सरसफाइ अनि आफ्नै कर्मचारीलाई टिसर्ट बाँडेर पदयात्रा गरेको सामान्य कार्यव्रmमलाई समेत संस्थागत सामाजिक उत्तरदायित्व वित्तीय साक्षरता कार्यक्रममा गर्ने गरेको पाइन्छ । एकातिर संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी प्रयासहरू टाठाबाठा सुकिलामुकिला मानिस बसोबास गर्ने सहरी क्षेत्रमा सीमित भएको छ, जुन कुरा पूर्णतः असत्य पनि छैन । अर्कोतर्फ नेपाली जनताले तिरेको करबाट संस्थापित भएका र सबै वर्ग र आस्थाका ग्राहकसँग कारोबार गर्ने सरकारी, संयुक्त लगानी वा निजी क्षेत्रका वित्तीय संस्थाले सञ्चालन गर्ने सिएसआरका कार्यक्रम कतिपय अवस्थामा राजनीतिक आग्रह पूर्वाग्रहबाट प्रभावित भएको भन्ने गुनासोमा सत्यता देखिँदै गएको छ ।
नेपाल राष्ट्र बैङ्कले नेपालको बैङ्किङ उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्व अध्ययन सम्पन्न गरी यो प्रतिवेदन प्रकाशनमा ल्याएको थियो । बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अभ्यासहरूको यथार्थता केलाउन तथा यस बैङ्कबाट यस सम्बन्धमा जारी गरिएका निर्देशनकोे कार्यान्वयन स्थिति विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन गरिएको थियो । बैङ्क तथा वित्तीय संस्थाको वार्षिक प्रतिवेदन, नेपाल राष्ट्र बैङ्कमा पेस गरेका तथ्याङ्क साथै २०७७ कात्तिक २० देखि मंसिर २६ गतेसम्म गरिएको अनलाइन सर्वेक्षणका आधारमा यो अध्ययन गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाको वर्ग अनुसार हेर्दा ‘क’ वर्गका वाणिज्य बैङ्कले औसतमा १.५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैङ्कले १.५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीले १.६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले २.०१ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन् तर निर्देशन दिएबमोजिम सामाजिक उत्तरदायित्व कोषको खर्च विवरण वार्षिक प्रतिवेदनमा खुलाउने गरेका छैनन् । भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउनुका साथै पारदर्शी रूपमा खर्च गराउन सामाजिक उत्तरदायित्वसम्बन्धी स्पष्ट मार्गदर्शन तथा निर्देशनको आवश्यकता देखिन्छ । बैङ्क तथा वित्तीय संस्थाका शाखा देशभरि रहने तर बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकमको दुईतिहाइ अंश काठमाडौँ उपत्यकामै खर्च हुने गरेको राष्ट्र बैङ्कको एक अध्ययनले देखाउनु विडम्बनाको विषय हो यसलाई सुधार गर्नु जरुरी देखिन्छ । सिएसआर कोषबाट हुने खर्च क्षेत्रगत तथा प्रदेशगत रूपमा सन्तुलित हुन नसकेको अवस्थामा संस्थाको अवस्था अनुसार उत्तरदायित्वमा समेत ध्यान दिन सकेमा संस्था तथा त्यसको वित्तीय कारोबार दिगो र प्रभावकारी बन्न सक्दछ । सामाजिक उत्तरदायित्वले सामाजिक तथा सांस्कृतिक परिवर्तन एवं रूपान्तरण ल्याउन सक्नु पर्दछ ।