• १३ साउन २०८१, आइतबार

एक वर्षमै उप्कियो कालोपत्रे

blog

कालीकोट, कात्तिक १२ गते । जिल्ला सदरमुकाम मान्मदेखि जिल्ला अस्पतालसम्मको सडक कालोपत्रे एक वर्षमै उप्किएको छ । कमजोर निर्माण सामग्री र निर्माण कम्पनीको लापरबाहीका कारण एक वर्षअगावै कालोपत्रे उप्किएको बताइन्छ ।

निर्माण भइरहेका बेला गोरखापत्रसहितका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय कालीकोटमा भएको छलफलमा बजेट व्यवस्थापन गरेर उक्त खण्डमा आरसिसी गर्ने भनिए पनि अहिलेसम्म जिरो प्वाइन्ट क्षेत्र जीर्ण नै छ । सडकमा राखिएको अलकत्रा त्यतिबेला नै उप्किएको थियो । धेरै विरोधपछि निर्माण कम्पनीले स्थानीयले सडकमा पानी फालिदिएका कारण यस्तो भएको दाबी गरेको थियो । खड्का निर्माण सेवाले उक्त सडकको काम जिम्मा पाएको थियो । 

सहरी विकास कार्यालय जुम्लाका प्राविधिक चन्द्र खड्काको निर्माण कम्पनीले गर्ने धेरै काम यस्तै गुणस्तरहीन हुने गरेको आरोप छ । व्यक्तिगत पहुँचको प्रयोग गरी खड्काले प्राविधिक प्रतिवेदन आफैँ तयार गर्ने र ठेक्का पनि पार्ने गरेको आरोप लाग्दै आएको छ । यो सडकमा पनि त्यस्तै खेल भएको अनुमान गर्ने धेरै छन् । उहाँका भाइ समुन खड्काले ठेक्का कार्य सञ्चालन गर्दै आउनुभएको छ । कालीकोटको एकीकृत भवन, जिल्ला अदालत र गेस्ट हाउस निर्माण उहाँकै निगरानीमा भएका थिए तर बनेको एक वर्षमा चर्किनेदेखि कोठामा हालिएको फोर्ससमेत उप्किँदै जाने गरेपछि पुनः मर्मत गर्दै आएको कार्यालयका कर्मचारीको भनाइ छ । 

खड्काले निगरानी गरेको सरकारी वकिलको कार्यालय कालीकोट पनि उस्तै गुणस्तरहीन छ । त्यसैले औपचारिक रूपमा उक्त कार्यालय बुझिएको छैन । सडकको आरसिसीको काम पनि गुणस्तरहीन हुने गरेको छ । काम छिटो सक्ने नाममा खड्काले जग्गा विवादलगायतका कुरा सुल्झाउनुको साटो आफू अनुकूलतामा अन्यत्र लैजाने गरेको स्थानीयको आरोप छ । कालीकोटको सदरमुकाम मान्म बजार आरसिसीका लागि सम्झौता भएका ठेक्का उच्च व्यक्तिको मनसायका आधारमा सार्ने गरिएको छ । मान्म बजारदेखि कोटदरबार हुँदै कर्णाली राजमार्गमा जोड्ने आरसिसी सडक उहाँले वडा नं. ४, जहाँ कामै नलाग्ने ठाउँमा सारेर बजेट सकेको स्थानीयको आरोप छ ।