• २५ असार २०८१, मङ्गलबार

महासचिवको भ्रमणको तयारी पूरा, आज राति नेपाल आउनुहुने

blog

काठमाडौँ, कात्तिक ११ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को  निमन्त्रणामा उहाँ चार दिने भ्रमणका लागि आज राति नेपाल आउँदै हुनुहुन्छ ।  

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उहाँको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।  नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्व प्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ । 

उहाँले काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस