• १३ साउन २०८१, आइतबार

प्रविधिको प्रयोगले कृषकलाई सहज

blog

टयाक्टरबाट बारी जोत्नसँगै थ्रेसरबाट धान दाउँदै किसानहरु । तस्वीर : लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक ११ गते । कृषियन्त्रको प्रयोगले खेती गर्न जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय दाङमा कृषियन्त्रको प्रयोग बढ्दैगएको छ । कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको घोराही उपमहानगरपालिका–५ भैसापथ्रा निवासी किसान दुर्गा वलीले बताउनुभयो ।  

छोराहरू छुट्टिएर सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उहाँको भनाइ छ । जोत्नसँगै धानलगायतका अन्य बाली दाउने समेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिने बताउनुभयो ।  

गोरु नहुँदा खेत अधिया लगाउने मानिस खोज्नुपर्ने बाध्यता भए पनि अहिले  प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको भन्दै भन्नुहुन्छ, ‘गाउँमा कमाउनका लागि विदेश जाने बढेसँगै गोरु पाल्न छोडिसकेका छन् । जस्लेगर्दा खेती गर्ने मान्छे नहुँदा जग्गा बाँझो रहनेगरेको थियो । पछिल्लो समय प्रविधिको सहयोगले खेतबारी जोत्नेदेखि धाउनेसम्म व्यवस्था भएपछि अहिले आफै लगाउने गरेको छु ।’ 

उहाँका अनुसार प्रविधिको सहयोगले कृषि पेसा गर्नलाई सहज छ । विगत चार वर्षयता ट्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दैआएको घोराही उपमहानगरपालिका–७ निवासी चेतराम चौधरीको भनाइ छ ।  चौधरीले भन्नुभयो, ‘आफू वृद्धसँगै छोराहरू छुट्टिएर सानो परिवार भएकाले खेती गर्न समस्या हुनेगरेको थियो । 

प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउने समेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ । उहाँका अनुसार कृषियन्त्रको प्रयोगले पछिल्लो समय आफूजस्ता गाउँभरका किसानलाई सहज भएको बताउनुभयो । 

कृषिमा काम गर्ने मानिसको अभावमा खेतबारी बाँझो भइरहेको समयमा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन्, त्यसैमा अधिकांश घरका पुरुषहरू कमाउन बाहिर छन् । 

यस्तो अवस्था अधिकांशको खेतभरी बाँझै रहने अवस्था थियो । तर गाउँमा जोत्नका लागि ट्याक्टर र दाउनका लाथि थ्रेसर भएपछि अधिकांशले खेती गर्नेगरेका छन् । उहाँका अनुसार धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्नेगरेको भन्दै उहाँले भन्नुभयो, ‘पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्नेगरेको थियो । अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।’ 

राज्यले कृषि पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्न  प्रोत्साहनस्वरुप यान्त्रिकरणमा सहयोग गर्दैआएको कृषि ज्ञान केन्द्र दाङका कृषिविज्ञ तथा कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउन तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरणसँगै बीउ, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दैआएको बताउनुभयो ।