• २० असोज २०८१, आइतबार

आर्थिक अभावले खड्ग जात्रा सञ्चालन गर्न गाह्रो

blog

भीमेश्वर मन्दिरमा पुगेर देखाइएको खड्ग जात्राको झलक । तस्विर : बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, कात्तिक ८ गते । आर्थिक अभाव हुन थालेपछि दोलखाको भीमेश्वर नगरपालिका –२ को ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न गाह्रो हुँदैआएको छ ।  

देशमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारहरुले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङ्कट पर्दैआएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले करिब ६ लाख रुपियाँ सहयोग गरेपछि सञ्चालनमा आएको कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।  

दोलखाली राजा इन्द्रदेव सिंहको कान्छो छोराको सन्तान भएको दावी गर्दै भन्नुभयो, “पुर्खाको विसं १५९० मा मृत्यु भएपछिदेखि यो जात्रा गुठियारकै कुतबाट चल्दैआएको थियो । कुत आउन छाडेपछि केही दिन व्यक्तिगत पैसा उठाएर जात्रा चल्यो । अहिले भीमेश्वरमा चढाएको बलि तथा पूजाको पैसाले मुस्किलले चलेको छ । समितिबाट सहयोग नहुने हो भने कुनै दिन परम्परा तोडिन सक्ने आशङ््का रहेको छ ।”

दोलखा मात्र नभएर देशकै परम्परा थेगिराखेको यो जात्रा सञ्चालन गरिरहन हामीलाई हम्मे परिरहेको छ । दायित्व वहन नगरी सरकारबाट बेवास्ता हुँदा यो जात्रा थेग्न गाह्रो भएको समितिका पूर्वअध्यक्ष जीवन श्रेष्ठले दुखेसो पोख्नुभयो ।

परम्परागत सांस्कृतिक परम्परानुसार विजया दशमीको भोलिपल्ट (एकादशीका दिन ) बिहानदेखि बेलुकासम्म मनाउने यो जात्रामा सेतो दौरा, जामा र सेतै फेटा गुथेका पहिरनमा पहेँलो जमाराको माला लगाई स्थानीय कुसुले बाजाका साथ ससाना बालकदेखि निकै वृद्ध उमेरका व्यक्ति तलमाथि खड्ग नचाउँदै नाच्ने गर्दछन् । 

किम्बदन्तीअनुसार दानवहरुले देवीदेवता एवम् मानिसलाई विभिन्नखाले दुखकष्ट दिन थालेपछि दानवराज महिषासुरको कसरी बध गर्ने भन्ने विषयमा देवताको वैठकपछि दानवमाथि युद्ध गर्ने निर्णयमा पुगी सोही मुताविक साइत जुराई युद्धको आरम्भ भएको हो ।

युद्ध प्रारम्भको पहिलो दिन देवदेवीहरु विभिन्न बाजागाजाका साथ पूजा सामग्री लिएर युद्ध निमन्त्रणाका साथै सहायताका लागि समुद्र सतहदेखि तीन हजार ८४२ मिटरको उचाइमा रहेका कालिञ्चोक भगवतीसमक्ष पुगी त्यहाँबाट आश्वासन पाएको बताइन्छ । 

यसरी आश्वासन प्राप्त भएपछि देवदेवीहरुले दोलखा सहरको राइती भन्ने ठाउँमा तीनधारा अगाडि यज्ञको सुरुवात गरेका थिए । यसै समयमा दानवहरु त्यहाँ आइपुगी यज्ञमण्डपलाई कुल्ची ध्वस्त पारे । यसपछिबाट नै देवीदेवता र दानवबीच युद्धको थालनी भएको मानिन्छ । 

यो युद्धको अन्तिम दिन विजया दशमीको दिन दानवराज महिषासुरको शिर छेदनगरी देवीदेवताले विजय प्राप्त गरेकाले सोको खुसीयाली तथा सम्झनाका निमित्त यो जात्रा मनाइने प्रचलन रहेको बताइन्छ । यो जात्रा मनाउन यहाँको राजकुलेश्वर निमाविको स्थानदेखि केही तल रहेको चक्र डवलीमा नवमीको दिन पुजारीबाट चामलको भातबाट चक्रेश्वर बलिराजाको मूर्ति बनाइ स्थापना समेत गरेर स्थानीय कुसुलेबाट विधिपूर्वक राँगाको बलि दिइन्छ । 

कालरात्रिका दिन यहाँको प्रसिद्ध भीमेश्वरमा चारवटा राँगा बलि चढाइन्छ । तीमध्ये एउटा राँगोको घाँटीको मासु ताछी वा नछिनाइ भीमश्वरको मन्दिरबाट तल रहेको त्रिपुरासुन्दरीसम्म लाने चलन छ । यसरी गर्नुको कारण दानवराज महिषासुरलाई निकै ठूलो यातना दिई मारेको भन्ने रहेको यहाँका बूढापाकाहरु बताउँछन् । 

भीमेश्वरमा राँगाको बलि दिनुको तात्पर्य महिषासुर गणको बध गरेको मानिन्छ भने सो कार्यलाई नेवारी भाषामा हामिल्टी तिमिल्ठो भनिन्छ । टीकाको दिन साइत पारी युद्धमा जानुपर्ने तर त्यस दिन टीका थाप्ने काममा व्यस्त हुनुपर्ने भएकाले बेलुका बाजागजासाथ युद्धको अभिनय गर्दै महिषासुरको नाममा कुभिण्डो काटिन्छ । 

याकरगठ्ठा सेनापतिले खड्ग थमाई युद्धमा प्रस्थान गर्न सङ्केत गरेपछि बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच सुरु हुने गर्छ ।  चक्रमण्डप नक्छेटोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धले भरिएको नाच प्रदर्शन गर्दै लडाइँका निमित्त गुर्कोट टोल र टँसिचा टोलमा पुगिन्छ । 

यसपछि बटुकभैरवलाई अगाडि लगाई सेनाहरु टुँगलटोल हुँदै नागेश्वर मन्दिर, पिङ्गल टोलको महादेवस्थान, राजकुलेश्वरस्थान हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलिराजाको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन् । 

भीमेश्वरस्थान, त्रिपुरासुन्दरीमा बलि दिइएको राँगाको टाउको यहाँ राखिन्छ र त्यो टाउकोलाई राजकुलेश्वर भगवती र बटुकभैरवले खड्ग प्रहार गरी शिर छेदन गर्दछन् । यसपछि सगुनबाजा बजाउँदै खुसी मनाउने चलन छ । बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीहरुले मन्दिरअगाडि बसेर टीका लगाइदिने प्रचलन अझै रहेको  स्थानीय तीर्थनारायण जोशीले बताउनुभयो ।  

स्थानीय जोशीले करिब पाँचसय वर्ष अघिको मल्लकालीनजस्तो, किराँतकालीनजस्तो पनि लाग्ने यो जात्रा पौराणिक जात्रामध्येको जेठो भएकाले यसको संरक्षणमा सरकारले पनि चासो राख्नु पर्ने बताउनुभयो ।