• २८ पुस २०८१, आइतबार

सिक्टा सिंचाइ आयोजना

२० अर्ब रुपियाँ खर्च हुँदा २० हजार हेक्टरमा सिंचाइ सुविधा

blog

सुस्त गतिमा निर्माण भइरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनाको पूर्वी नहर । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ८ गते । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको काम सुस्त गतिमा भइरहेकाले निर्माणको समय लम्बिंदै गएको छ । 

आयोजना निर्माणको समयावधि लम्बिँदै जाँदा लागत पनि सोही अनुपातमा बढ्दै गएको आयोजनाले जनाएको छ । १८ वर्षअघि ७ अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजना अझै पूरा नहुँदा हाल लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । 

१८ बर्षअघि ७ अर्ब रुपियाँ लागत लाग्ने भनी सुरु गरिएको सो आयोजना अझै पूरा नहुँदा हाल लागत बढेर ५२ अर्ब ८९ करोड पुगेको छ । 

तर काम भने अझै सुस्त गतिमा चलिरहेको स्थानीयको भनाइ छ । सो आयोजना निर्माणकर्ताका अनुसार हालसम्म निर्माणमा २० अर्ब २५ करोड रुपियाँ खर्च भइसकेको छ । सो बाट २० हजार २०० हेक्टर जमिनमा सिंचाइ पुगेको छ ।

एक अर्ब रुपियाँ खर्च बराबर एक हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको आयोजना निर्माणकर्ताले जनाएका छन् । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट ४ हजार २०० गरी २० हजार २०० हेक्टर जमिनमा सिंचाइँ पुगेको सिक्टा सिंचाइ आयोजनाले जनाएको छ । 

बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुगाउने उद्देश्यले आर्थिक वर्ष २०६२–६३ देखि सिक्टा सिंचाइ आयोजना निर्माण सुरु गरिएको थियो । 

आयोजना सुरु भएको करिब दुई दशकमा २० अर्ब बढी खर्च हुँदा पनि लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको छ । तेस्रो पटक गुरुयोजना परिवर्तन गरेर विस २०९० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, विभिन्न कारणले निर्माण कार्य निकै सुस्त गतिमा भइरहेकाले सो अवधीमा पनि पूरा हुने सम्भावना न्यून छ । 

बाँकेमा अहिले ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । बाह्रैमास पानी सुविधा भएमा किसानले धान बाहेकका खेतीबाट पनि राम्रो आम्दानी गर्ने आशा गरिए पनि किसानको आशा अझै पूरा हुन सकेको छैन । 

दुई दशकमा २० अर्ब बढी खर्च हुँदा पनि लक्ष्यको ५० प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको छ ।

आयोजनाले आवश्यकताभन्दा निकै कम पानी छोडेर तयार भएका नहरको परीक्षण गरिरहेको किसानको गुनासो छ । किसान अगुवा शालिकराम डाँगीले पूर्वी र पश्चिम नहरमा छोडिएको पानीबाट किसानले न्यून सुविधा पाएको बताउनुभयो । उहाँले कतिपय ठाउँमा कमजोर निर्माणका कारण बढी पानी छोड्दा नहर भत्किने डर रहेको बताउनुभयो । 

डाँगीका अनुसार यसअघि दुई पटक नहर भत्किसकेको छ । नहरमा पानी कम बग्ने गरेकाले उँचो खेतमा पानी पुगाउन समस्या भइरहेको छ । पानी नहरमा आएपछि अन्न उत्पादन गर्ने किसानको चाहना अझै पूरा हुन सकेको छैन ।